TodayPati

प्रदेश २ मा बलात्कारको भयावह रुप : गाउँमै पञ्चायती गरेर यसरी बलात्कारीलाई जोगाइन्छ

रोहित महतो

जनकपुरधाम, असोज १९ गते ।

१ असोजको साँझ सुवर्ण गाउँपालिका- ५, ओरैयाकी १२ वर्षीया बालिका भाइलाई खाना खान बोलाउन निस्केकी थिइन् । घरबाट निस्किएलगत्तै छिमेकी २६ वर्षीय शिवपुजन यादवले उनको हात समातेर ताने ।

Sponsored

यादवले गलत मनशायसहित समातेपछि बालिका गाली गर्दै चिच्याइन् । बालिका चिच्याएपछि उनको मुखमा सल कोचेर जबर्जस्ती करणी गरेको पीडित परिवारको आरोप छ ।

‘कृष्ण यादवले देखेपछि मेरी छोरीलाई दुई थप्पड हानेर घर पठाइदिए । छोरी रुँदै घर आइन् तर डरले केही बोलिनन् । कृष्णले पहिले मलाई घटना सुनाउँदा मैले पनि छोरीलाई नै गाली गरिदिएँ,’ उनका बुबाले भने, ‘पछि छोरीको कुरा सुनिसकेपछि जबर्जस्ती गरेको थाहाँ पाएँ । कृष्णले नदेखेको भए शायद मेरो छोरीलाई मारेर फालदिन्थे ।’

उनका अनुसार बलात्कार आरोपी यादव नातामा गाउँको काका पर्थे । घटनालगतै उनी फरार भए । बलात्कार आरोपी युवकका परिवार र केही छिमेकीले बदनामी हुने भन्दै घटना ढाकछोप गर्न दबाब दिए । तर, पीडित बालिकाका बुबाले मानेनन् । उनी न्याय माग्न वडाध्यक्ष रामएकवाल साहको घर पुगेर घटनाको वृतान्त सुनाए ।

Sponsored

राति १० बजे वडाध्यक्ष साह र उनका समर्थकसँगै छिमेकीहरू उनको घर आइपुगे । वडाध्यक्षसहितका केही व्यक्तिले उनलाई पैसा लिएर मिल्न हरसम्भव प्रयास गरे । 

‘तिमी गरिब छौ । तिमीलाई कसैले साथ दिँदैन । हल्ला नगर । चुपचाप डेढ लाख रुपैयाँ लिएर मिलीहाल भनेर वडाध्यक्षले पटकपटक दबाब दिए,’ उनले भने, ‘शिवपुजनका परिवारले नमिले तिमीलाई पनि कतै फसाइदिन्छु । मारदिन्छु, घरमा आगो लगाइदिन्छु भनेर धम्की दिए । तर के गरिब हुँदैमा हाम्रो इज्जत छैन ? हामीलाई जसरी पनि न्याय चाहियो, पैसा चाहिँदैन ।’

उजुरी दर्ता भइसकेपछि ३ लाख रुपैयाँ लिएर मिल्न पीडक यादवको परिवार र वडाध्यक्षले दबाब दिएको उनको दाबी छ । 

प्रहरी चौकीमा जाँदा वडाध्यक्षलगायतका केही व्यक्तिको दबाबमा प्रहरीले समेत गाउँमै घटना मिलाउन दबाब दिएको उनले बताए ।

अन्ततः स्थानीय प्रहरीले सहयोग नगरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको उनको भनाइ छ । उजुरी दर्ता भएलगतै बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । उनको रिपोर्टसमेत आइसकेको छ ।

‘रिपोर्ट आइसकेको छ तर अहिले हामीले सार्वजनिक गर्न मिल्दैन । तपाईंहरू ढुक्क हुनुस्, आरोपीलाई हामी छिट्टै पक्रिनेछौँ,’ बाराका एसपी कृष्ण पंगेनीले भने ।

गत २८ भदौमा सप्तरीको डाक्नेश्वरी नगरपालिका- ७ की १७ वर्षीया संगीता मण्डल खेतको काम गर्न घरबाट निस्केकी थिइन् । तर, बाटोमै धान खेतको आलीमा चार जनाले पछाडिबाट झ्याप्पझुप्प समातेर उनलाई खेतमै लडाए । वरपर अरू कोही थिएनन् । लुगा खोल्न थालेपछि जोडले उनी चिच्याइन् । तर उनको मुख बन्द गरिएकाले केही सीप लागेन ।

बलात्कारीहरू जबर्जस्ती गरेर फर्किए । पीडित किशोरी एकछिन बेहोस भइन् । बिहान ६ बजे घरबाट गएकी उनी हिलो लागेको रगतपच्छे अवस्थामा रुँदै घर आइन् । धेरै बेरसम्म उनी एकनास रोइरहिन् ।

एकछिनपछि चार जनाबाट आफू बलात्कृत भएको आफ्नो आमालाई सुनाइन् । उनकी आमाले छिमेकी तथा गाउँका मुख्य नेता तथा छिमेकीलाई घटनाको वृत्तान्त सुनाउँदै न्यायका लागि गुहार मागिन् । गाउँमा पीडित संगीताकी आमालाई पञ्चायती बसाउन पञ्चले सुझाव दिए ।

पञ्चायतीमा स्थानीय पञ्चहरुले आरोपितहरूबाट ५५ हजार रुपैयाँ लिएर मिल्न दबाब मात्र दिएनन्, पीडितले कतै उजुरी गर्न नपाउने समेत फैसला सुनायो । प्रहरीका अनुसार ५५ हजार रुपैयाँ लिएर गाउँमै मिल्नुपर्ने पञ्चले फैसला सुनाएका थिए । पञ्चले सुनाएको फैसला अनुसार पैसा लिएर नमिले गाउँबाटै बहिष्कार गर्नेसमेत केहीले धम्की दिए ।

पञ्चहरूले भेलामा सार्वजनिक रूपमै संगीतालाई बारम्बार कसरी र कतिपटक बलात्कार भयो भनेर साेध्न थालेपछि उनले झनै लज्जा र बेइज्जत महसुस गरिन् । पञ्चहरूले दिएको पीडा संगीताले सहन सकिनन् । अन्ततः उनले आत्महत्याकाे बाटाे रोजिन् । 

गत १ भदौको साँझ धनुषाधाम नगरपालिका नौसयबिगाहस्थित दिदीको घरबाट फर्किंदै गर्दा एक किशोरीलाई धर्मपुरनजिकै युवाको एक समूहले घेराउ गरे ।

किशोरीसँगै रहेका दुई युवालाई सो समूहले कुटपिट गर्दै बन्धक बनाए । प्रहरीका अनुसार १५ वर्षीया ती किशोरीलाई करिब ३ किलोमिटर पर लगेर चार जनाले बलात्कार गरे । उनीहरुले बलात्कार गरेको भिडियोसमेत खिचेको र बलात्कारको कुरा सार्वजनिक गरे भिडियो फेसबुकमा राखिदिने धम्की दिएको प्रहरीसमक्ष ती किशोरीले बताएकी छन् ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरी प्रहरीले दुई जनामाथि मुद्दा चलाएको छ । तर दुई जना बलात्कारी र सहयोगीसहित छ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

पीडित परिवारले भने घटना भएको एक महिनाभन्दा बढी हुँदासमेत प्रहरीले सबैलाई पक्राउ गर्न नसकेको गुनासो गर्दै न्याय मागिरहेको छ । प्रदेश २ मा दिनानुदिन बालिका तथा महिला बलात्कृत हुने क्रम बढ्दो छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार पछिल्लो अढाई महिनामा मात्र ८७ वटा बलात्कारका घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

तीमध्ये ७६ वटा घटनामा मुद्दा चलिरहेको छ भने बाँकी घटनामा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार साउनदेखि १५ असोजसम्म महोत्तरीमा १६, सिरहामा १५, धनुषा र सप्तरीमा १२/१२,  रौतहटमा ११, सर्लाहीमा नाै, पर्सामा सात र बारामापाँच वटा उजुरी दर्ता भएका छन् । 

यस्तै, जबर्जस्ती करणी उद्योगमा २१ वटा उजुरी दर्ता भएका छन् । प्रहरीको पछिल्लो अढाई महिनाको तथ्यांकअनुसार प्रदेश २ मा प्रत्येक १६ घण्टामा एक जनामाथि बलात्कार तथा बलात्कारको प्रयासका घटना भइरहेको छ । 

बलात्कारीलाई उन्मुक्ति दिन पञ्चायती

बाराको सुवर्ण गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि घटना मिलाउन सुरुमा गाउँमै पञ्चायती बस्यो । घटना गाउँभन्दा बाहिर आउन नदिने भन्दै पीडित परिवारलाई वडाध्यक्ष रामएकवाल साहसहितको टिमले ३ असोजमा पञ्चायती बसाउन लगाए । तर पञ्चायतीमा डेढ लाख रुपैयाँमा मिल्न दबाब दिएपछि पीडित परिवारसँगै त्यहाँका युवाहरूले मानेनन् ।

‘हामी गरिब मान्छे पहिले प्रहरीमा के जानु गाउँ समाजमै इन्साफ मिलिहाल्छ भनेर पञ्चायती बसायौँ । यहीँ इन्साफ भेटिने हाम्रो आस थियो तर वडाध्यक्षले हामीलाई तीन दिनसम्म गाउँमै अल्मल्याएर राख्नुभयो । जसरी पनि मिल्नबाहेक अरु कुनै कुरै गर्नु भएन,’ पीडित बालिकाका बाबुले भने । 

तर पीडितकै न्यायका लागि छलफल गर्न जाँदा युवाहरुको समूहले आफूलाई कुटपिट गरेको वडाध्यक्ष साहको भनाइ छ । बलात्कारको घटना भएको खबर पाएलगतै आफूले प्रहरीमा नै खबर गर्न भनेको उनको दाबी छ ।

‘पीडितले प्रहरीलाई खबर गर्न मानेका थिएनन्,’ उनले भने, ‘सामाजिक प्रतिष्ठामा आँच आउँछ भनेर पञ्चायती गरिदिनुस् भनेर मकहाँ आएका थिए  ।’ गाउँमा इन्साफ नपाउने देखेपछि उजुरी दर्ता गराएको पीडितका बुबाले बताए ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा संगीतामाथि सामूहिक बलात्कार हुँदा गाउँका स्थानीय अगुवाले गाउँमै घटना मिलाउन पीडित परिवारलाई पञ्चायती बसाउन लगाए ।

पञ्चहरूले ७० हजार रुपैयाँ लिएर मिल्न दबाब मात्र दिएनन्, कानुनी प्रक्रियामा जाने बाटोसमेत बन्द गरिदिए । इज्जतसँग खेलवाड हुनेगरी मानसिक दबाब र पञ्चको कुरा काटेर प्रहरीमा उजुरी दिए गाउँबाटै निकाल्नेसम्म धम्की दिएपछि पीडित संगीताले पीडा सहनै सकिनन् । ‘पापीहरूले मेरी छोरीको बलात्कार गरे । तर आत्महत्या गर्न गाउँका पञ्चहरूले बाध्य बनाए,’ उनकी आमाले भनिन् ।

सयौँ जनाको बीचमा पञ्चहरूले मेरी छोरीको बेइज्जत गरे । मेरी छोरीलाई आत्महत्या गर्न बाध्य बनाइएको हो,’ उनकी आमा रधियादेवीले पीडा पोखिन् । राति सबै जना सुतिसकेपछि दैलोमै पासो लगाएर उनले आत्महत्या गरेको उनको भनाइ छ ।

गाउँमै घटना मिलापत्र गरी प्रहरीमा उजुरी गर्न रोक्ने स्थानीय चार जना पञ्चलाई प्रहरीले पछि समात्यो पनि । तर पञ्च पक्राउ परेको घटनापश्चात्समेत सामूहिक बलात्कारकै शिकार भएकी धनुषा सबैला नगरपालिका-१२, रघुनाथपुरकी १५ वर्षीया किशोरीलाई समेत गाउँमै मिल्न पञ्चहरूले दबाब दिए ।

राजनीतिक दलका स्थानीय नेताहरूले पञ्चायती राखेका थिए । पीडितका बुबाका अनुसार पञ्चहरूले सुरुमा बलात्कार गर्नेहरूबाटै प्रतिव्यक्ति १ लाख रुपैयाँ दिने प्रस्ताव गरे । तर आफूहरू मिल्न नमानेपछि रकम बढाउँदै एक जना पीडकका बुबा सत्यनारायण यादवले प्रतिव्यक्ति ३ लाखका दरले संकलन गरी १२ लाख रुपैयाँ दिने प्रस्ताव गरेका थिए ।

यादवले घटनामा पक्राउ परेकालाई छुटाउन अरू ८ लाखजति प्रहरी र अदालतमा खर्च हुने र त्यो रकम आफूहरूले नै तिर्ने पञ्चसामु बताएका थिए । तर घटना लुकाउन पैसाको ‘अफर’ नस्वीकारेपछि उनको परिवारलाई ज्यान मार्ने पटक-पटक धम्की दिन थालियो ।

पीडित परिवारले धम्की पाएको र जबर्जस्ती मिल्न दबाब दिएको प्रहरीमा उजुरी गरेपछि यादव पक्राउ परेका छन् । गाउँमा बलात्कारजस्तो जघन्य अपराधमा पञ्चायती गरेर घटना मिलाउने वा ढाकछोप गर्ने यी प्रतिनिधि घटना मात्रै हुन् । घटना बाहिर आए इज्जतमाथि दाग लाग्ने र पीडकको जिन्दगी नै बर्बाद हुने भन्दै जघन्य अपराधमा समेत राजनीतिक दल तथा स्थानीय अगुवाहरुबाट मधेसमा पञ्चायती गरेरै पहिले घटना मिलाउने परम्परा अझै व्याप्त छ ।

‘पञ्चायतीले बलात्कार बढ्यो’ प्रहरी के गर्दै छ ?

धनुषामै बलात्कारका घटनामा पञ्चहरुले पीडितलाई गाउँमै मिल्न दबाब दिएको एक महिनाभित्रै दुईवटा घटना आफूकहाँ आएको अधिवक्ता तथा महिला अधिकारकर्मी रेखा झाले बताइन् ।

‘संघसंस्थाहरूमार्फत तपाईँहरूमाथि पनि मुद्दा दिन लगाइदिन्छु भनेर त्रास देखाएपछि मात्र गाउँका पञ्चहरू पछि हटे,’ उनले भनिन् । जनचेतना, शिक्षाको अभाव र राजनीतिक संरक्षणमा बलात्कारका घटनासमेत पञ्चायती गरेरै मिलाउने घटना भइरहेको उनले बताइन् ।

गाउँका राजनीतिकर्मी तथा पञ्चहरूले पीडितलाई कानुन छलेर पञ्चायतीमार्फत घटना ढाकछोप गर्दै पीडकलाई उन्मुक्ति दिँदा बलात्कारका घटना दिनानुदिन बढेको उनी बताउँछिन् ।

‘यो  ठूलो अपराध हो । अन्तर्राष्ट्रिय कानुनले पनि यस्ता घटनामा आम माफी दिनै हुन्न भनेको छ । तर गाउँका मानिसले अझै यसलाई जघन्य अपराधै मानेका छैनन्,’ उनले थपिन्, ‘गाउँ समाजले जे भयो भयो अब पीडकको भविष्य जेलमै बर्बाद हुन्छ भनेर जोगाउन हरसम्भव प्रयास गर्छन् । तर पीडितको भविष्यबारे केही सोच्दैनन् । यसमा मुख्य संलग्नता राजनीतिकर्मीकै हुन्छ ।’

प्रहरीले बलात्कारका घटनामा अनुसन्धान पुरानै तरिकाले हुँदै आएकाले यसलाई परिमार्जन गरी आधुनिक अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।

‘यहाँ प्रहरीको अनुसन्धान फितलो छ । पीडितलाई छोएको, चलाएको वा बलात्कार गरेको ठोस प्रमाणका लागि प्रहरीले फिङ्गरप्रिन्ट, फुटप्रिन्ट लगायतका वैज्ञानिक अनुसन्धान गर्नुपर्ने खाँचो छ,’ उनले भनिन् ।

तर बलात्कारजस्तो जघन्य अपराधमा गाउँमा पञ्चायती गरी घटना ढाकछोप गरिने कार्य व्याप्त रहेको प्रहरीसमेत स्वीकार गर्छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईँले समाजमा परापूर्वकालदेखि चलिआएको चलनलाई आत्मसात् गर्नेहरू रहेकाले पञ्चायती पूर्ण रूपमा बन्द हुन नसकेको बताए ।

‘पञ्चायती गर्ने गाउँका ठूलाबडा, पञ्च भलाद्‌मीहरू बदमास हुन् । हामीले आठवटै जिल्लामा यसलाई निरुत्साहित गर्न कडाइ गरेका छौँ । सप्तरीमा चार जनासहित विभिन्न जिल्लामा केहीलाई पक्राउसमेत गरेका छौँ,’ उनले भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *