सप्तरीका एक वडाध्यक्षको मृत्यु
टुडेपाटी- सप्तरी, असोज ५ गते ।
सप्तरीका एक वडाध्यक्षको निधन भएको छ । रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको आज ५४ वर्षका उमेरमा निधन भएको हो ।
केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो । उनको शव अन्त्येष्टिको लागि घर ल्याउन लागिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।
विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्कनुभएका मगरको स्वास्थ्यावस्था गम्भीर भएपछि आज बिहान धरान लगिएको थियो ।
सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि मगर केही महिनादेखि निकै तनावमा रहेका थिए । उनी गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा ५६६ मत ल्याएर निर्वाचित भएका थिए ।
Sponsored