प्रदेश २ : छोरा बनाएर भारतीयलाई नागरिकता दिने बहादुर प्रहरीको फन्दामा
टुडेपाटी
सर्लाही, असोज १ गते ।
भारतीय नागरिकलाई नक्कली छोरा बनाएर नागरिकता बनाउने एकजनालाई प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा सर्लाही बरथवहा नगरपालिका–२ घर भई हाल सर्लाही हरिवन नगरपालिका–१० ताईवान सुकुम्वासी टोल बस्ने ५२ वर्षीय गिर्ज बहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ ।
भण्डारीले २०७६ पुस ३ गते झुटा विवरण पेश गरेर भण्डारीले भारतको सितामढी बगमढी ग्राम पञ्चायत घर भएका २५ वर्षीय सिताराम सिंह राजपुतलाई आफ्नो छोरा भन्दै निरज भण्डारी नाम राखेर नेपाली नागरिकता दिलाइदिएका थिए ।
भारतीय नागरिकलाई आफ्नो छोराको नाम दिएर नागरिकता बनाइदिएको हल्ला चलेपछि फरार भएका थिए भने भारतीय नागरिकलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो ।
८ महिनासम्म फरार रहेका भण्डारीलाई सर्लाहीमै लुकिछिपी बसेको अवस्थामा बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।
Sponsored
मुख्य अभियुक्त भण्डारीले भारतीय नागरिक छोरा भएको बताउँदै राजपुतबाट मोटो रकम लिएर नागरिकता दिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी राठौरले बताए ।
प्रहरीसँगको सोधपुछको क्रममा राजपुतले ना.प्र.नं.१९–०७–७६–०३१३३ नागरिकता गिर्ज बहादुर भण्डारीको छोरा बनेर लिएको बयान दिएका थिए । राजपुतको बयानको आधारमा भण्डारी प्रहरीको खोजीमा थिए ।
नागरिकता ऐनअनुसार झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशीलाई १ वर्षदेखि ५ वर्ष कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
यस्तै विदेशीलाई नागरिकता सनाखत र सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।