धनुषा : मुसहरले खोलामा भेटाए सालको काठ, घुमुवा प्रहरीलाई २ हजार घुस नदिँदा भयो झडप
टुडेपाटी
जनकपुरधाम, भदौ २५ गते ।
काठ तस्करीको आरोेपमा प्रहरीले मुसहर समुदायलाई धरपकड गर्न थालेपछि धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरका मुसहर वस्ती यतिखेर सुनसान छ । बस्तीमा बालबालिका र वृद्धा मात्रै भेटिन्छन् ।
बस्ती नजिकैबाट बग्ने औरही खोलाबाट खनेर ल्याएको सालको काठ बिक्री गरेपछि प्रहरीले उक्ता काठ नियन्त्रणमा लिन खोज्दा गएको आइतवार राति स्थानीय र प्रहरीबीच झडप भएको थियो । सोही क्रममा दुइ जना प्रहरी र तीनजना स्थानीय घाइते भएका थिए । घटनामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ भने अझै केही व्यक्तिको खोजीमा जुटेको छ ।
प्रहरीले आफूहरूलाई पनि पक्राउ गर्ने त्रासले वयस्क पुरुष र महिलाले तीन दिनदेखि गाउँ छोडेका छन् । जसका कारण बालबालिका र पशु चौपाया भोकभोकै छन् । सादा पोसाकका प्रहरीले मागेको दुई हजार रुपैयाँ दिन अस्वीकार गरेपछि विवाद चर्केको स्थानीय बताउँछन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट सादा पोसाकमा आएका असइ बुलेन्द्र गरी र प्रहरी जवान प्रकाश चौधरीले सालको काठ बेच्दा दुई हजार रुपैयाँ माग गरेको उनीहरूको आरोप छ ।
Sponsored
इप्रकाका निमित प्रमुख प्रहरी नायब निरीक्षक मोहम्मद मुस्तुफाले भने पैसा मागेको आरोप निराधार रहेको दाबी गरे । पैसा माग्दा मुसहर युवाहरूले ‘किन पैसा दिने’ भन्दै प्रतिकार गरेपछि मद्दतका लागि प्रहरी बोलाएका थिए ।
प्रहरी टोलीले काठ नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिकार गर्दा प्रहरी निरीक्षकसहित ५ प्रहरी घाइते भएका थिए । सोही झडपको विषयलाई लिएर प्रहरीले स्थानीय दुई महिलासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।
प्रहरीले रजियादेवी सदा, अन्जे सदा, निराजन राउत, रञ्जिता राउत र फुलगेन सदालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रजियादेवी र रञ्जितालाई अभद्र व्यवहार र तीनै पुरुषलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको हो ।
स्थानीयलाई पक्राउ गरेपछि खोलाबाट सालको काठ ल्याउने कार्यमा संलग्न स्थानीय मुसहरहरू पक्राउ पर्ने त्रासले गाउँबाट भागेको स्थानीय अजयकुमार राउतले बताए । उक्त बस्तीमा २० परिवार मुसहरको बसोबास छ । प्रहरीले घरमै बसेका निर्दोषलाई समेत पक्राउ गरेको बटेश्वर गाउँपालिका–५ का अध्यक्ष शिवकरण यादवले बताए । घटनामा संलग्न नभएकालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी भइरहेको उनको भनाइ छ ।
खोलामा बाढी आउँदा माटोमा पुरिएका पुराना सालको काठ स्थानीयले निकालेर बेच्दै आएको वडाध्यक्ष यादवले बताए । काठ बेच्दा प्रहरीलाई समेत स्थानीयले पैसा बुझाउने गर्थे ।
लकडाउनमा काम नपाएर बेरोजगार भएका मुसहरहरूले एक महिना अगाडि १५ दिन लगाएर समूहमै काठ झिकेका थिए । सिंगो रूखबाट ८ वटा सालको टुना बनाएर एक महिनादेखि गाउँमै राखिएको थियो । मूल्य नमिल्दा महिना दिनसम्म थन्किएको काठ आइतबार राति ६० हजारमा स्थानीयले बेचेका थिए । उक्त काठ प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठको पैसाले मुहसहरहरूले नुन, तेल, चामल र औषधि उपचारमा खर्च गर्ने सहमति गरेको स्थानीय ५७ वर्षीय फेकनीदेवी राउतले बताइन् । लकडाउन भएपछि सहरबाट फर्केकाहरूले काम नपाएपछि १५ दिन लगाएर नदीको काठ खनेका थिए । घुमुवा प्रहरीले मागेको दुई हजार नदिँदा गाउँभरकै मुसहरलाई काठ मुद्दामा फसाएको स्थानीय ठकनी सदाले बताइन् ।
बरामद काठको वैधताबारे प्रहरीले डिभिजन वन कार्यालय धनुषालाई पत्र पठाएको थियो । प्रहरीको पत्र प्राप्त भएपछि काठबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय जनकपुरका प्रमुख सुनील कर्णले बताए ।