महोत्तरीमा निषेधाज्ञामा पनि काठ तस्करी
टुडेपाटी-
महोत्तरी, भदौ १२ गते ।
कोभिड–१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करको प्रवेश बढेको छ ।
११ चैतदेखि ७ साउनसम्म सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा २० साउन यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटकपटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने क्रम बढेको हो ।
भदौ लागेयतामात्रै वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान गरेर लुकाइएका साखुका काठ ५९ क्यूविक फिट बरामद गरेको छ ।
चोरी कटान गरेर लगिने काठ धेरैजसो अवैधरुपले सञ्चालन गरेका समिल (काठ चिरान गर्ने कारखाना) र फर्निचर उद्योगमा फेला परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए ।
Sponsored
यसरी चोरी कटान हुने रुखमा साखुका ससाना बोट बढी पाइएको वन सुरक्षा गस्तीको अनुभव छ ।
आम मानिस र वन सुरक्षा जवान कफ्र्यूले सक्रिय नहुने अनुमानमा तश्करले यो समय प्रयोग गर्ने गरेका छन् ।
यसअघि साउनमा जिल्लाकै गौशाला नगरपालिका क्षेत्रभित्र चोरी कटान गरी चिरान गराएर लुकाई राखिएका साखुकै १०० क्यूविक काठ वन सुरक्षा गस्तीले बरामद गरेको थियो ।
यसअघि गतचैतदेखि असार मसान्तसम्म डिभिजन वन कार्यालयले सञ्चालन गरेको सघन गस्तीले ३०० क्यूविक फिट साखुकै काठ बरामद गरेको कार्यालय अभिलेखमा तथ्याङ्क छ ।
लकडाउन र कफ्र्यूभित्र वनसम्पदा चोरी कटान र वन्यजन्तुको अवैध शिकार बढेपछि कार्यालयले गतचैतदेखि नै समय तालिकासहित ३ वटा वन सुरक्षा गस्ती परिचालित गर्दै आइएको कार्यालयले जनाएको छ ।
लकडाउन सुरु भएको गत चैत यता हालसम्म करिब ५०० क्यूविक फिट चोरीका साखुका काठ बरामद गरिएको छ ।
काठ चोरीमा प्रयोग गरिने हतियार, काठ ओसार्न प्रयोग गरिएका साइकल, मोटरसाइकल र टेम्पुसहित साधन नियन्त्रण लिइएको छ ।
यसअवधीमा १० जना पक्राउ परेका छन् । लकडाउन र कफ्र्यू अवधीभित्रै शिकारीको आक्रमणमा परी घाइते भएका १० वन्यजन्तु उद्धार गरिएका छन् । रासस