प्रदेश २ : भेन्टिलेटर अभावमा संक्रमितले ज्यान गुमाउँदै तर अढाई करोडको भेन्टिलेटर प्रयोगबिहीन
टुडेपाटी-
जनपकुरधाम, भदौ २ गते ।
कोरोना भाइरस संक्रमणले प्रदेश २ अक्रान्त भएको छ । प्रदेश २ मा पछिल्लो समय दिनहुँ कोरोना संक्रमितको संख्या करिब दुइ सय बढीको दरले बढिरहेको छ भने संक्रमणबाट मृतकको संख्या समेत ४७ पुगेको छ ।
जटिल प्रकृतिका संक्रमितको संख्या समेत बढ्दै गएको छ । ती जटिल प्रकृतिका संक्रमितलाई आइसियु र भेन्टिलटर अति आवश्यक देखिएको छ । संक्रमितलाई आवश्यक परेको बेला भेन्टिलेटरै नपाएर समेत धनुषामा कोरोना भाइरस संक्रमितको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।
भेन्टिलेटर लगायतका अन्य भौतिक पुर्वाधार तथा उपकरण नहुँदा कतिपय बिरामीको मृत्यु भएको डाक्टरले समेत स्वीकार गर्दै आएका छन् । तर भेन्टिलेटर हुँदाहुँदै पनि प्रदेश तथा स्थायनीय सरकारले यस विषयमा आवश्यक जनशक्ति परिचालन गर्न नसक्दा अनाहकमै संक्रमितको मृत्यु हुने जोखिम बढेको छ ।
कोरोना संक्रमितको उपचारका लागि महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान गरिएको छ । तर, भेन्टिलेटर सेवा सञ्चालन गर्नका लागि जनशक्तिको अभावले भेन्टिलेर संचालन हुन सकेको छैन् । समाजिक विकास मन्त्रालयको सहयोगमा जलेश्वर अस्पतालमा पाँचवटा भेन्टिलेटर जडान गरिएको हो ।
Sponsored
अहिले यो अस्पताल कोरोना संक्रमितको उपचारका लागि कोभिड– १९ विशेष अस्पतालका रूपमा प्रयोग भइरहेको छ । एक सय शय्याको जलेश्वर अस्पतालमा अहिले ४२ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् । उनीहरूमध्ये चारजनामा कोरोनाको लक्षण देखिएको अस्पतालले जनाएको छ ।
संक्रमितलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउँदा सेवा दिन सकियोस् भनेर पाँचवटा भेन्टिलेटर जडान गरिएको अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताए । तर, जनशक्ति अभावमा पाँच भेन्टिलेटर सञ्चालन गर्न नसकिने अवस्था रहेको उनले बताए । ‘भेन्टिलेटरमा राखेर उपचार गर्नका लागि एक चिकित्सक हुनुहुन्छ, तर अन्य चिकित्सक र स्वास्थ्यकर्मी छैनन्,’ अध्यक्ष पाण्डेयले भने ।
भेन्टिलेटरसहित आइसियू पूर्ण रूपमा सञ्चालन गर्न विशेषज्ञ चिकित्सक र स्टाफहरू आवश्यक रहेको जनाएको छ । प्रदेश २ सरकारसँग एनेस्थेसिया, इन्टरनल मेडिसिन, तालिमप्राप्त नर्सिङ स्टाफलगायतको माग गरिएको अध्यक्ष पाण्डेयले बताए । कोरोना संक्रमित बढिरहेको र गम्भीर बिरामी पनि बढ्दै गएकाले भेन्टिलेटर सञ्चालन गर्न जरुरी रहेको उनको भनाइ छ ।
अस्पताल विकास समितिले आइसियूसहित पाँचवटा भेन्टिलेटर र अन्य उपकरण जडान गर्न दुई करोड ५२ लाख खर्च भएको जनाएको छ । भेन्टिलेटर खरिदमा भ्रष्टाचार भएको भन्दै आलोचना पनि भइरहेको छ ।