TodayPati

सप्तरीमा खाँडो खोलाले बगाएर ल्यायो आधा दर्जन बढी शव, तिलाठी डुबानमा

रासस-
सप्तरी, असार ३० गते ।

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ ।

स्थानीय खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ। बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानको चपेटामा परेका गाउँपालिकाले जनाएको छ ।

Sponsored

लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए। पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ ।

खाँडो खोलाको बाढीले करिब आठदेखि १० वटा शवसमेत बगाएर ल्याएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए। शवको कारण अत्यन्तै दुर्गन्ध फैलिएको मण्डलले बताए। शव ती शव कसकाे हाे र कहाँबाट बगेर आए खुलेकाे छैन। बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत नोक्सान गरेको छ ।

भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ। राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पु¥याएको छ। भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीको लाखौँको क्षति भएको छ ।

Sponsored

खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ । पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ ।

बर्सेनि करौडौँ रकम खर्च हुँदै आए पनि तिलाठी र बेल्हीको आन्तरिक विवाद तथा भारतको अवरोधका कारण तिलाठी र बेल्ही डुबानबाट बच्न सकेको छैन ।

बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जोखिममा रहने गरेको छ । चुरेबाट निस्केको खाँडो नदीले नेपाली भूभागमा तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्छ ।

खासगरी पूर्वपश्चिम राजमार्गदेखि दक्षिणको खाँडो नदी तटिय गाउँहरु हरेक वर्ष बाढीको चपेटामा पर्ने गरेका छन्। सबभन्दा बढी निशानामा पर्ने गाउँ भने तिलाठी र बेल्ही नै हो ।

यसैगरुी बलानखोलामा आएको बाढीले सप्तरीको बलानबिहुल गाउँपालिका–४ को बेल्ही बस्ती जोखिममा परेको छ । चुरे मूल भएको बलान नदीमा आएको बाढीले खेतजग्गा धमाधम कटान गर्न थालेपछि बेल्हीगाउँ जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

लगातारको वर्षाले खोलामा पानीको बहाव बढिरहेकाले स्थानीयवासीमा त्रास पनि बढेको बेल्हीका अनवारुल मियाँले बताए। खोला कटानले मदन मियाँ, मुस्तफा मियाँ, सदानन्द पाठकलगायतको खेत बगाएको छ भने अरुहरुको खेतजग्गा जोखिममा रहेको छ ।

बलान खोलामा आएको बाढीले बर्सेनि ५०/६० बिघा खेत कटान गर्ने गरेको र १२/१३ वर्षको अवधिमा ७०० बिघाभन्दा बढी जमीन कटान गरिसकेको वडाध्यक्ष हन्सु मियाँ बताउछन् ।

धार परिवर्तन गरी गाउँतर्फ फर्किएको बलान खोलालाई तत्काल नियन्त्रण गर्न नसके गाउँ बगरमा परिणत हुने स्थानीय उमेश यादवले बताए ।रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *