म मेरो राष्ट्रवाद खोज्दै छु !
डा.सुरेन्द्र लाभ –
आज मेरो राष्ट्रको मौसम धेरै सफा छ । हैन मेरो देशको मौसम ! हैन मेरो मातृभूमिको मौसम ! खै के हो के हो ?
मातृभूमि लेख्दा स्ंस्कृताइज्ड देखिने । देश लेख्दा त्यति जोश नआउने । त्यसो भए राष्ट्र लेख्नुनै जात्ति । बोलबाला पनि राष्ट्रवादीकै छ अहिले । चारैतिर दुदुम्भि पनि राष्ट्रवादकै बजेको छ ।हरेक मादल, हरेक ढोलक, हरेक हारमुनियम, हरेक गितार लगायत प्रत्येक वाद्यवादनबाट एउटै राग एउटै तालको आवाज आईरहेको छ ( सा रे ग रा ष ट र वा द म प ध नि सा . . . ।
म त मुर्खै रहेछु ।कस्तो कुरा नबुझेको मुन्छे ! कता बरालिएर राष्ट्रवाद खोज्दा रहेछु । अस्ति बिच सडकमा मृत भेटिएका सूर्यको पेट्मा राष्ट्रवाद खोज्दै थिंए । दलितहरुको लाश फालिएको भेरी नदीमा म आफ्नो राष्ट्रवाद खोज्दै थिए । नरैनापुरको कोरेन्टाइनमा राष्ट्रवादलाई खोज्न गए ।
जनकपुरको आइसोलेसनमा पनि खोजे । सप्तरीको सदा परिवारको थालमा खोजे । म खेतमा खोजे, खलिहानमा खोजे । देशभरि सडकमा ओर्लेका युवाहरुको आक्रोशमा खोजे । काठमाण्डूबाट आफ्ना गाउँ हिडेका मजदूरहरुको पैतालामा राष्ट्रवादको खोजि गरें ।
धोतिमा खोजे, टोपिमा खोजे । कलैयामा खोजे, कर्णालिमा खोजे । मधेस आन्दोलनको शहिदमा खोजे, लोकतान्त्रिक आन्दोलनको शहिदमा खोजे । दलित, जनजाति, महिला, बेरोजगार र गरिबमा खोजे । तर बेकार ! राष्ट्रवादिता त संसद भवनमा पाईंदो रहेछ है । त्यहाँ ठूलै परीक्षा हुँदो रहेछ । परीक्षाको स्वरुप गजबको । न लिखित न प्रैक्टिकल ।
Sponsored
मात्र मौखिकबाट काम चल्ने । त्यसैमा तछाड मछाड गर्नु पर्ने । को सबभन्दा ठूलो राष्ट्रवादी त्यो आफ्नो भाषणबाट प्रमाणित गर्नु पर्ने । राष्ट्रघातिकै श्रेणिमा राखिएका दुईथान बन्धु पनि यसपालि आन्तरिक मूल्याङ्कन बाट राष्ट्रवादको परीक्षा पास गर्नु भयो ।
चारैतिर पसंशा बटुल्न भयो । जय हो बन्धुगण, बधाई । ठीक गर्नु भो कहिले सम्म मधेश सधेश भनी राख्ने ? संसद भवनको रोष्टममा बोल्न समयसीमा हटाउन प्रधानमन्त्री पनि त बन्नु छ ।
अब हेर्नु होला हिमाल पहाडका जनता पनि तपाईंलाई चोखो सम्झी बाकसका बाकस मत हाल्नेछन् । पाँच÷सातवटा घर अझ थप्नु होला कान्तिपुर नगरीमा । त्यति नभै जनताले पनि पत्याउँदैन । अनि पो रवाफ ! र, राष्ट्रवादीको पहिचान ! जय राष्ट्रवाद ! जय राष्ट्रवादी ! !
अब प्रश्न उठछ सपै नेपाली जनता राष्ट्रवादी कसरी बन्ने ? मधेसको कुरो उठाँउदा बिखण्डनबादी, दलित जनजातिको समस्या उठाउँदा डलरबादी, महिला पीडाको विषय उठाउँदा हठवादी रे ! अब राष्ट्रवादी हुनलाई सर्वप्रथम यस्ता झिनामसिना कुराहरु उठाउँदैन न उठाउने ।
बुझ्नु भो मान्यवर ! अधिकारकर्मी ज्यूहरु ! तपाईंहरु आफ्नो जिवन बर्बाद गर्नु भो । यस्ता अराष्ट्रवादी कुरा गरेर समाजलाई बर्बाद गर्नु भो । एउटा एकसय आठ दानाको माला किन्नुहोस र दिनरात एउटै माला जप्नु होस् ( राष्ट्रवादी ! राष्ट्रवादी ! ! फरक विचार राख्नेको कुरा सुन्दै न सुन्नु होस् । र, त्यस्तोलाई राष्ट्रघातीको बिल्ला भिडाउनु होस् तुरुन्त । गज्जबको राष्ट्रवादी होइने छ ।
डफलि वाले डफलि बजा राष्ट्रवादको डफलि बजा । दुर दुर छी छी यो कस्तो उताको अराष्ट्रवादी भाषाको फिल्मी गीत दिमागमा आयो ? छी । अब त झ्याल ढोका थुनेर बरु उताको सिनेमा र समाचारको आनन्द लिउँला तर बाहिर सशक्त बिरोध गरौंला । जय महेन्द्र माला । अब त रौसी खाएर पनि अराष्ट्रीय भाषाको प्रयोग नगर्ने र अन्तराष्ट्रीय भाषाको प्रयोग गरेर साथीलाई गालि गर्ने ।
आजकल दिनरात एक नम्बरको राष्ट्रवादी कसरि बन्ने भने चिन्ता मलाई सताई रहेको छ । ‘आजकल’ शब्द लेख्दा पनि आखाँले ‘आजतक’ पढ्दो रहेछ । मेरो आँखा अब राष्ट्रवादी हुने क्रममा छ । खुशीको कुरा । तर एक नम्बरको कसरी बन्ने ? प्रश्न यथावत छ ।
चिन्तामा दुब्लाउदै गएको छु । पहिला पचपन्न केजीको थिए । अहिले दुब्लो भएर पचहत्तर केजीको भएको छु । धेरै चोटि राष्ट्रीयताको ब्यापार गर्दा पचासी केजीको भएको थिए नि बिच–बिचमा । बहुत फाईदाको ब्यापार थियो त्यो । कस्ता निर्दयीहरु निर्बाधरुपमा अगाडी बढाउनै दिएन ब्यापारलाई । जे भयो भयो । अब त यसैमा एक नम्बर बन्नु छ । तर हे भगवान कति प्रतिस्पर्धा छ यो फिल्डमा ? कस्ता कस्ता आए र कहाँ कहाँ पुगे !
आज देखि म मा चेतना भया । अब प्रश्न गर्दिन प्रसंशा गर्छु । भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा पनि गर्छु । अग्रजहरुबाट केही उखानटुक्का पनि सिक्छु । देशको दक्षिण भेगमा बस्नेहरुको बिरोध गर्छु । उनिहरुको बानि बेहोराको चर्चा गरेर मजा लिन्छु । त्यो भन्दापनि दक्षिण तिरको बिरोध गर्छु र खाटी राष्ट्रवादी कहलाउने छु ।
खाल्डोमा ठूलठुला घर ठ्ड्याए, महगो गाडी, बैक बैलेन्स र प्रतिष्ठित व्यक्तिको रुपमा स्थापित भए । यति मात्र कहाँ होर सांसदपद पाएर मन्त्रीपदको बाटोमा लम्केर मोक्ष प्राप्तिको मार्ग प्रसस्त गर्न भ्याए । नो योगा, नो ध्यान । डाइरेक्ट मोक्ष ।
यस्ता देवतुल्य व्यक्तित्वहरु माथि कुनै किसीमको शंका गर्नु पनि कुनै देशले उचालेको ठहरिने छ । न यिनको नियत माथि शंका उपशंका गर्नुस, न सम्पतिमाथि महाशंका । सबै राष्ट्रवादी हुन् , न शंका गर्न मिल्छ, न प्रश्न गर्न । यदि भूलबस गरिहाल्नु भो भने भोलि हैन आजै अराष्ट्रिय तत्वमा दरिनु हुन्छ ।
तसर्थ यी महान कर्ताधर्ताहरुको जय–जयकार गर्नु होस् ।
हाम्रो नेता हाम्रो सांसद (प्राण भन्दा प्यारो छ ।
हाम्रो मंत्री राम्रो मन्त्री (भगवान भन्दा माथि छ ।
फरक बिचार फरक धार (राष्ट्रघातीको सारथी छ ।
हो म पनि यस्तै जयजयकार गर्छु अब । के ठेगान कुनै दिन सांसदपद पाईहाल्ने हो कि ? एका बिहानै उठ्दा मंत्रीपदको शपथ खानलाई मोबाईल कराउन थाल्ने हो कि ? वाह ! सारा काला करतुत र धन क्षणमै स्वेत दूधले पखालिने छ । म शुद्ध भै हाल्ने छु ।
झन् मंत्रीपदको शपथखाना साथ म सर्वज्ञ भै हाल्ने छु । यस्तो मुक्तिमार्गलाई छाडेर म कहाँ कहाँ भट्की रहेको थिए । कसको कसको बहकावामा संघीयतामा, समाबेसितामा, लोकतन्त्रमा, गणतन्त्र आदि इत्यादिमा बहकी रहेको थिएँ ।
आज देखि म मा चेतना भया । अब प्रश्न गर्दिन प्रसंशा गर्छु । भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा पनि गर्छु । अग्रजहरुबाट केही उखानटुक्का पनि सिक्छु । देशको दक्षिण भेगमा बस्नेहरुको बिरोध गर्छु । उनिहरुको बानि बेहोराको चर्चा गरेर मजा लिन्छु ।
त्यो भन्दापनि दक्षिण तिरको बिरोध गर्छु र खाटी राष्ट्रवादी कहलाउने छु । यस्तै कुरा गरेर चुरे पनि आरोहण गर्न नसक्ने मनुवाहरु सगरमाथा को चुचुरोमा पुगे । र, आज गल्तिले पनि सगरमाथाको उत्तरी भेगमा दृष्टिपात नगरि दक्षिणावर्ति आँखा निर्माणमा महारत हासिल गरेका छन् । आजबाट म पनि त्यस्तै चरणहरु पछ्याउने छु ।
हे मेरा देशका महान राष्ट्रवादीहरु आउने शतप्रतिशत जन्मसम्म प्रेरणा प्रदान गरी राख्नु होला । जय होस् ।
बहुत राम्रो व्यंग्य लेख ! लाभ सरलाई मुरी मुरी धन्यवाद,बधाई,नमन !