सर्लाहीमा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, गोलीको छर्रा लागेर १२ जना घाइते
टुडेपाटी-
सर्लाही, असार १५ गते ।
सर्लाहीमा स्थानीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते भएका छन् ।
धनकौल गाउँपालिकामा आइतवार राति भएको झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् ।
घाइते सबैको अवस्था सामान्य छ ।
नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा झडप भएको हो ।
सामान्य विषयबाट सुरु भएको विवाद बढ्दै जाँदा दुवैतर्फ सयौँ मानिस भेला भएका थिए ।
Sponsored
त्यसक्रममा तीन राउण्ड गोली चलेको सुनिएको प्रहरीले जनाएको छ ।
गोली चलेको बन्दुक कसको हो भन्ने खुलिसकेको छैन । यद्यपि, प्रहरीले स्थानीय मुकेश शाहलाई गोली चलाएको आशंकामा पक्राउ गरेको छ ।
घाइतेको जिल्लास्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
राति साढे ८ बजे भएको घटनाले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गाउँपालिकामा पुगेको थियो भने केही राउण्ड टियर ग्यास हानिएको थियो ।