औषधी नपाएर क्वारेन्टाइनमा बसिरहेकी महिलाको मृत्यु, कोरोना परिक्षण हुँदै
टुडेपाटी
बैतडी, जेठ २० गते ।
बैतडीमा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा श्रीमान् र १८ महिने बच्चा सहित बसिरहेका भटनाका २२ वर्षीया सुनीता लोहारको मंगलबार बिहान मृत्यु भएको हो ।
मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको तर आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन गर्न नपाएको उनका श्रीमान हरिश लुहारले बताए ।
उनको कोरोना परीक्षण गर्न स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए । मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए ।
लुहारको अवस्था सोमबारसम्म सामान्य रहेपनि मंगलबार बिहानै मृत्यु भएको उनको भनाइ छ ।
मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फकिएकी थिइन् । उनी जेठ १८ गतेदेखि क्वारेन्टिनमा बसिरहेकी थिइन् ।
Sponsored