ईदको निजी खर्च कटौती गरी २ सय परिवारलाई राहत
टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।
ईद पर्वमा आफ्नो परिवारमा हुने निजी खर्च कटौती गर्दै जनकपुरका मुस्लिम समुदायका एक व्यक्तिले दुईसय गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–५ बस्ने युसुफ साफीले यस वर्ष इद पर्वको अवसरमा घरपरिवारमा हुने निजी खर्च कटौती गर्दै लकडाउनमा झनै समस्यमा परेको गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेका हुन् ।
मस्लिम समुदायले सबभन्दा ठूलो पर्वको रुपमा रहेको ईदुल फित्र पर्वमा नयाँ नयाँ लुगा लगाएर तथा मिठा परिकारहरु खाएर हर्सोल्लापूर्वक मनाउने गर्दछन् । तर यस वर्षको ईदमा अन्य सबै खर्च कटौती गरी गरिब तथा विपन्नहरुलाई राहत नै वितरण गरेको साफीले बताए ।
‘हाम्रो ठुलो परिवारमा प्रत्येक वर्ष ईदमा लाखौ रकम खर्च हुन्छ । तर यसवर्ष ईदमा हामी आफ्नो घरका सदस्यहरुको लत्ताकपड खरिद नगरी मानव सेवाको काममा लगाएका छौं ।’ साफीका छोरा ईदमोहम्मद साफीले भने ।
दुईसय परिवारलाई १० किलो चामल र १ किलो दरले सेवई वित्तरण गरेको साफीका अर्का छोरा रियाज साफीले जानकारी दिए ।