रिंकु सदाको न्यायको माग गर्दै मिर्चैयामा प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, फागुन १२ गते ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको न्यायका लागि मिर्चैयामा युवाहरुले प्रदर्शनसँगै दीप प्रज्वलन गरेका छन् । रिंकुको न्याय र दोषीमाथि कारबाहीको माग गर्दै आइतबार साँझ मिर्चैयाको कटारीचोकमा प्रदर्शन गरिएको हो ।
घटनामा संलग्न र पञ्चायती गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् । स्थानीय युवा राजेश यादवले रिंकुको न्यायका लागि सार्वजनिक दबाब सिर्जना गर्न आह्वान गरेका छन् ।
त्यस्तै सिरहा जिल्लाको गाउँ गाउँ टोल टोल बाट रिंकुकुमारी सदाको न्यायको लागि आवाज उठाउनु पर्ने स्थानीय युवा पंकज शर्माको भनाइ छ । मधेशमा बलात्कारको घटना बढ्नुमा राज्य कमजोर हुँदैगएको स्थानीय बिके शाहको तर्क छ ।
रिंकु गत माघ २७ गते राति शौचाल्य गर्न घरबाहिर निस्कँदा स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । घटनालाई पञ्चायती बसेर गाउँमै ढाकछोप गर्ने प्रयास गरिएको थियो । ३० माघमा उनी घरमै झुण्डिएको अवस्थामा मृत फेलापरेकी थिइन् ।