हाजिर रोकेपछि ढिलो पुग्ने शिक्षकले गराए वडाध्यक्षमाथि आक्रमण, हात मक्कियो
टुडेपाटी-
जनकपुरधाम, फागुन १ गते ।
महोत्तरीको रामगोपालपुरमा विद्यालयमा शिक्षकको हाजिर रोक्ने विषयको विवादको क्रममा आक्रमण एकवडाध्यक्षको हात मक्किएको छ । रामगोपालपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शिवजी महतोको दाहिने हात मक्किएको हो ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय विश्वम्भरपुरमा शिक्षकको हाजिरी रोक्ने विषयमा विवाद भएको थियो । आफूमाथि स्थानीय राम विनय यादव, विन्देश्वर यादव र मनोज यादवसहितको समूहले बिहीबार विद्यालय परिसरमै गालीगलौज गर्दै कुटपिट गरेको वडाध्यक्ष महतोले बताए । उनी प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराई घर फर्किएका छन् ।
शिक्षक कौशल विक्रम साह र सञ्जिव कुमार मण्डल विद्यालयमा ढिलो पुगेपछि वडाध्यक्ष महतोले हाजिर रोक लगाएका थिए । यही विषयमा विवाद उत्पन्न भई कुटपिट भएको रामगोपालपुर नगरपालिकाका मेयर राम दुलार साहले जानकारी दिए ।
हाजिर रोक लगाएपछि शिक्षक मण्डल गेटबाहिर निस्किएका थिए भने अर्का शिक्षक साहलाई पनि विद्यालय प्रवेशमा रोक लगाएपछि विवाद चर्किएको थियो। वडाध्यक्ष महतोका अनुसार शिक्षकहरूले आफ्ना समर्थकहरूलाई बोलाई कुटपिट गराएका हुन् ।
स्थानीय महेश यादवले दुवै शिक्षक प्रायः सधैं ढिलो आउने गरेको बताए । विद्यालयमा १० बजे आउनुपर्ने शिक्षक साह र मण्डल बिहीबार साढे १० बजे मात्र पुगेका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलका अनुसार वडाध्यक्षमाथि आक्रमण भएको मौखिक जानकारी प्राप्त भएको बताए ।