छठ महापर्वको पौराणिक्ता, आराधना विधि र सामाजिक संदेश
डा. बिरेन्द्र “मुनिजी”
महापर्वको पौराणिक्ता :
प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा षष्ठी देवीको साथसाथै सुर्यदेव को पुजा आराधनाको बिधान प्रथम मनु स्वायंभुवको कालखण्ड देखि नै उल्लेख भएको पाइन्छ | शिव पुराण, ब्रह्म्वैवर्त पुराण, मार्कण्डेय पुराण लगायत अन्य बिभिन्न उपनिषद् तथा श्रुतिहरुमा यस महापर्वको महत्त्व बिस्तृत रुपमा बर्णन गरिएको छ |
प्रथम मनु स्वायंभुवको कालखण्डका पुराणमा उल्लेख भए अनुसार निज स्वायंभुवका पुत्र प्रियव्रत नि:सन्तान रहेको ब्यथा राजाबाट महर्षि कश्यपले सुनेपछि पुत्रेष्ठी यज्ञ गर्न आदेश दिए | सोहि आदेश अनुरुप यज्ञ गरेको फलस्वरुप राजाले शिशु प्राप्त गरे, तर नवजात शिशु जीवित थिएन | मृत सन्तानको जन्मले अति दु:खी, विहृवल राजा प्रियव्रतले प्राण वियोग गर्न खोजेको समयमै आकाश बाट एउटा विमान पृथ्वीतिर अवतरण भइरहेको थियो, जसमा एउटी दिव्य नारि विराजमान थीइन| दिव्य नारीले आफ्नो परिचय ब्रह्माकी मानस पुत्री देवसेना हुँ, मलाइ षष्ठी पनि भनिन्छ भनेर दिइन र संसारका सबै शिशुहरुको रक्षा एवं पालन गर्ने मै हुँ भनेर भनिन | यिनै षष्ठी माताकी अनुकम्पाले प्रियवर्तका शिशु जीवित भएको उल्लेख भएको पाइन्छ |
शिव पुराणमा उल्लेख भए अनुसार भगवान शिवको तेजबाट उत्पन्न स्कंदलाइ छौ कृतिकाहरुले स्तनपान गराएर रक्षा गरेको ले नै उनको नामकरण कार्तिकेय भएको थियो | यस परिपेक्षमा षष्ठी देवीलाइ स्कंदकी पत्नी देवसेनाको नामले पनि पुजा आराधाना थालिनी भएको उल्लेख छ | त्रेता युग तथा भगवान श्रीरामको कालखण्ड, जो स्यंम सुर्यबंशी थिए, अर्थात उनका कुलदेवता नै सुर्य थिए |
लंका विजय पश्चात अयोध्या पुनारागवनमा श्रीराम आफ्नो कुलदेवताको आशिर्वादको निम्ति माता सिता सहित षष्ठी तिथिमा ब्रत राखी सरयु नदिमा अस्ताउँदो सुर्यलाइ फलफुल, मिष्ठान तथा अन्य बस्तुहरु सहित अर्ध्य दिएका थिए र संगै सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्ध्य दिएर कुलदेवता सुर्यको आशिर्बाद प्राप्त गरे पश्चात मात्र राजकाज सम्भालेको अनुशरण गर्दै आम जनहरु समेत सुर्यषष्ठीको रुपमा पर्व मनाउन लागेको उल्लेख भएको पाइन्छ | द्वापर तथा श्रीकृष्णको कालखण्डमा पनि चौध वर्षको बनवास र एक वर्षको अज्ञातवासको बेला कुन्ती, द्रौपदी सहित पाण्डवहरुले षष्ठी ब्रत गरेको प्रसंग महाभारतमा उल्लेख भएको पाइन्छ |
Sponsored
अर्को एक सनातन प्रसंग अनुसार भिष्म पितामहले पुलस्त्यमुनिबाट व्यक्त गरिएको जानकारी उल्लेख गर्दै भनेका थिए एक दुस्ट क्षेत्रीय राजा कुष्ठ र क्षयरोगबाट ग्रसित थियो र सो कष्ट सहन न सकेर मृत्यु वरण नै एक मात्र उपाय रहेको सोची रहदा त्यति बेलै एक ब्राह्मणको राजदरबारमा उपस्थिति भयो | कष्टग्रस्त राजाले राजदरबारमा उपस्थित ब्राह्मणसमक्ष आफ्नो शारीरिक कष्टका साथै कतिपय प्रजा पुत्रविहिन रहेको र कतिपयको अल्पायुमै मृत्यु हुने गरेकोले सोको समाधान गर्ने उपाय बताउन आग्रह गरे | ति सबै किसिमका कष्ट निवारणको लागि सुर्यदेवको उपासना गर्न कार्तिक शुक्ल पन्चमी तिथिमा खरना गर्दै षष्ठी तिथिमा अस्ताउँदो र सप्तमी तिथिमा उदाउँदो सुर्यको पुजा आराधना गर्ने बिधान बारे जानकारी गराए | सोहि अनुसार षष्ठी तिथिमा निर्दिस्ट बिधान अनुसार सुर्यदेवको पुजा आराधान गरेपछी राजा र प्रजाको कष्ट निवारण भएको विश्वासमा यो पर्वको महत्व बढ्दै गएको उल्लेख छ |
अर्को एक प्रसंग अनुसार प्रथम देवासुर संग्रामको बेला जब देवताहरु असुरहरुसंग पराजित भएको बेला देव माता अदितिले तेजस्वी पुत्र प्राप्तिको मनोकांक्षा लिएर सुर्य देवको आराधना गरेको थिइन् | देव माताको पुजा आराधनाले सुर्य देव प्रसन्न भइ सर्वगुण समपन्न तेजस्वी पुत्र पाउने बरदान दिएको थियो | वरदानको फलस्वरूप अदितिले त्रिदेव रुप आदित्य भगवान पुत्रको रुपमा पाइन्, जसले असुरहरु माथि देवताहरुलाई विजय हात पर्न सफल बनाएका थिए |
आराधना बिधि:
अत्यन्त श्रध्दा एबंम निष्ठाले मनाउने यो पर्ब चार दिन सम्म मनाइन्छ | शारीरिक तथा मानसिक दुवै रुपमा शुध्द हुनु आबश्यक हुन्छ | कार्तिक शुक्ल चतुर्थीबाट शुरु भइ सप्तमीको दिन यो महापर्बको समापन हुन्छ | यस महापर्वको पहिलो दिन अर्थात चतुर्थीका दिन विधि-विधान सम्मत बर्तालुहरु हातखुट्टाको नङ काट्छन, पुरुष बर्तालुहरु कपाल समेत खौर्छन र नजिकको जलासय, नदि, पोखरी, इनारको शुध्द पानिले स्नान गर्छन र शुध्द-सातुकी (अर्वा-अर्वाइन) भोजन ग्रहण गर्छन | त्यसको भोलिपल्ट अर्थात कार्तिक शुक्ल पन्चमी तिथिमा आ-आफ्ना घर-आँगनलाइ गाईको गोबरले लिपि शुध्द चोखो पर्ने काम गरिन्छ |यस दिन ब्रतालु बिहान देखि पानि पनि नखाई ब्रत बसेका हुन्छन र साँझमा सख्खर र दुधबाट तैयार पारिएको बिशेष खिरको नैवेद दिई अत्यन्तै कठोर मानिएको छठ ब्रतको सफल्ताको कामना गर्दै सोहि खिर भोजनको रुपमा ग्रहण गर्ने गर्छन | छठको तेस्रो दित अर्थात कार्तिक शुक्ल षष्ठीका दिन ब्रतालुहरु निर्जल/निराहार बस्छन |
घरका अन्य सदश्यहरु नदि, पोखरी/तलाउ, जलासय जसको किनारमा गइ संध्या र बिहानको अर्घ्य दिइन्छ, त्यसको बिस्तृत सरसफाई गरि छठको घाट तैयार गर्ने सिँगार्ने काम गरिन्छ, जुन सामाजिक रुपमै समूहमै गर्ने हुनाले यसले सामाजिक सद्भाव र एकतालाइ दर्साउछ | बर्तालु संगै परिवारका अन्य सदश्यहरु नुहाई, चोखो भइ अर्घ्यको लागि आबश्यक पकवानहरु: ठाकुवा, भूसवा, खाजुरिया, पिरिकिया आदि छठ मात्रको निमित्त तैयार पारिएको माटोको चुल्होमा पकाइन्छ | यसरि तैयार पारिएको पकवान तथा अन्य फलफुल, साग–सब्जी, उखु, मुला, बेसारको झार आदिले अर्घ्य तैयार गरिन्छ र जलासयमा तैयार पारिएको पबित्र छठ घाटमा गइ अस्ताउँदो सुर्यलाइ पुजा आराधना गर्दै अर्घ्य दिईन्छ | छठ पर्वको अन्तिम अर्थात कार्तिक शुक्ल सप्तमीका बिहान पुन: ब्रह्म मुहुर्तमै ब्रतालुहरु छठ घाटमा पुग्छन र उदाउँदो सुर्यदेवलाइ अर्घ्य दिन्छन् |
सामाजिक संदेश:
भक्ति तथा आध्यात्मले ओतप्रोत यो महापर्वको सबभन्दा महत्वपूर्ण पक्ष यसको सरलता, पवित्रता एबंम लोकपक्ष रहेको छ | सामाजिक संरचनामा रहेको सबै तह-बर्गका जात-जति, समुहको यस महापर्वमा समान रुपको सहभागिता रहेको पाइन्छ | यस पर्वमा प्रयोग हुने बाँसका ढाकी (टोकरी), सुप (सुपा) र डगारी जस्ता सामाग्रीहरु तराई-मधेसमा रहेका डुम समुदायले तैयार परेका हुन्छन भने माटोबाट निर्मित कुरबार (बिशेष किसिमका गाग्री), हाथि, ठाकनहरु कुम्हार समुदायले तैयार परेका हुन्छन |
यस महापर्वका लागि फुल समाजमा रहेका माली समुदायले घर घरमा गइ पुर्याउने रिवाज रहेको छ | षष्ठी देवीको पुजा-आराधनाका लागि बजाइने बिशेष किसिमका सांगीतिक धुन तराई-मधेसका चमार (महरा) समुदायको जिम्मेबारि रहेको छ | छठ घाटमा समाजका सबै तह-बर्गका मानिसहरु एक-आपसमा सामाजिक सद्भावको उच्चतम नमुना प्रस्तुत गर्दै एकै रेखामा लामबध्द भइ गरिरहेका सुर्यका पुजा-आराधनाको दृश्य निश्चय नै सामाजीक सद्भाव तथा एकताको अनुपम नमुना हो |