TodayPati

मधेश प्रदेश: गाडी रोकी दुईजनाको अपहरण भएको घटना सार्वजनिक

टुडेपाटी-
राजविराज, भदौ ११ गते ।

सप्तरीका सार्वजनिक यातायात रोकेर बीच सडकबाटै दुईजना अपहरणमा परेको घटना सार्वजनिक भएको छ ।

अपहरणमा संलग्न भएको आरोप लागेकाहरूले फिरौती लिएपछि मात्र अपहरणमा परेकालाई छाडेको प्रहरीको भनाइ छ ।

Sponsored

गत साउन २९ गते भएको उक्त घटनामा सप्तरी प्रहरीले आइतबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार आफ्नो व्यावसायिक कामको सिलसिलामा धरानबाट राजविराज आएका एक महिला र एक पुरुष फर्किने क्रममा म्याजिक चढी रुपनीतर्फ गइरहेका थिए ।

सोही क्रममा रुपनी–५ स्थित युनिक अस्पताल नजिक मोटरसाइकलमा आएका केही व्यक्तिहरूले म्याजिक रोकी तपाईंहरूसँग काम छ भन्दै ती महिला र पुरुषलाई ओरालेर अपहरण गरेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले बताए ।

Sponsored

म्याजिकबाट ओरालेर अपहरण गरिएका दुवै जनाको साथमा रहेको ९७ हजार रुपैयाँ उनीहरूले लिएका थिए भने धरानमा रहेका महिलाका पतिलाई फोन गरी अपहरणकारीको आरोप लागेकाहरूले मोबाइल बैकिङमार्फत एक लाख रुपैयाँ फिरौती मागेको एसपी कार्कीले बताए । धरानबाट महिलाका पतिले मोबाइल बैंकिङमार्फत एक लाख रुपैयाँ फिरौती पठाएपछि अपहरणका आरोपितहरू घटनास्थलमा दुवै जनालाई छाडी फरार भएको प्रहरीको भनाइ छ ।

प्रहरीले साउन २९ गते भएको सो घटनामा संलग्न रहेको आरोपमा राजविराज–१ का अजयकुमार दासलाई भदौ ५ गते नियन्त्रणमा लिएको छ भने भदौ १० गते घटना सार्वजनिक गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *