धनुषामा एक वर्षमा एक हजारभन्दा बढी सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, साउन ६ गते ।
सवारी दुर्घटनामा परेर धनुषामा गत आर्थिक वर्षमा ८४ जनाको मृत्यु भएको छ।
आर्थिक वर्ष २०७९÷८० मा १ हजार १६ सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरीको तथ्यांकअनुसार गत आवमा सवारी दुर्घटनामा वृद्धि भए पनि मृत्यु हुनेको संख्यामा कमी आएको छ।
यस्तै, दुर्घटनामा परेर ४५६ जना गम्भीर घाइते भए । प्रहरी निरीक्षक साहले आफूहरुको राजश्व संकलन गर्नुभन्दा पनि सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य रहेको र गत आवमा सवारी दुर्घटना केही बढे पनि मृत्यु हुनेको संख्यामा कमी आएको बताए।
आव २०७८÷७९ मा ९७४ वटा सवारी दुर्घटना हुँदा १०५ जनाले ज्यान गुमाएका थिए भने ५४० जना गम्भीर घाइते भएका थिए। यस्तै, आव २०७७÷७८ मा ५६६ वटा सवारी दुर्घटना हुँदा ८१ जनाले आफ्नो ज्यान गुमाएका थिए भने ४०१ जना घाइते भएका थिए।
Sponsored