धनुषामा हत्या आरोपमा सौतेनी छोरा पक्राउ, यस्तो छ हत्याको कारण
टुडेपाटी–
जनकपुरधाम, असार २४ गते ।
धनुषामा हत्याको आरोपमा सौतेनी छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला वेतिया नरकटियागंज थाना केयुनिया घर भई गणेशमान चारनाथ नगरपालिका ४ स्थित भाडामा बस्दै आएका १९ वर्षीय प्रेम कुमार भगत रहेको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
युवकले बासी खाना दिएको विषयलाई लिएर आफ्नो सौतेनी आमाको हत्या गरेको खुलेको हो ।
शनिबार मध्यान्ह साढे ३ बजेको समयमा मिरा देवी भगतको शरीरमा आगो लागी मृत अवस्थामा रहेको भनि प्रहरीमा खबर गएको थियो ।
प्रहरी उपरीक्षक खड्काका अनुसार अनुसन्धानको क्रममा प्रेमलाई नियन्त्रणमा लिई जिल्ला प्रहरीमा ल्याई अनुसन्धान गर्दै जाँदा सौतेनी छोराले नै हत्या गरेर आत्महत्या गरेको जस्तो नाटक रचेको खुलेको हो ।
Sponsored
घटनाको दिन बिहान करिब ८ बजे तिर प्रेम काम गर्नको लागि बाहिर गएको र घरमा कोही नभएको समयमा सोही दिन दिउँसो १२ बजेतिर कामबाट खाना खानको लागि घर आई सौतेनि आमासंग खाना माग्दा बासी भात खानको लागि दिएपछी बासी भात खान्न बरू होटलमा गएर खाना खान्छु भनेपछी दुबैबीच बादविवाद भएको प्रहरी समक्ष बयान दिएका छन् ।
सौतेनी आमाले आफुलाई बुवाको समेत नाम जोडी अनेक प्रकारको अपशव्द गाली गलौच गरेपछी आवेशमा आई सौतेनी आमालाई धक्का दिँदा आमा भुँईमा लडेको र तत्पश्चात आमाले आफुलाई त्यहाँ रहेको काठको चिरपटले हान्न खोज्दा उक्त चिरपट खोसी आमाको पिठ्युँमामा हान्न खोज्दा टाउकोमा लागी घटना स्थलमै मृत्यु भएको प्रहरी समक्ष बयान दिएका छन् ।
महिलाको मृत्यु पश्चात उक्त घटनालाई ढाकछोप गर्नको सोही स्थानमा रहेको कपडा, जुटको बोराहरू आमाको शरिरमा राखि आगो लगाएको प्रेमले स्विकार गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएका छन् ।