जनकपुरमा मध्यरातिसम्म बजार संचालन गर्न दिन व्यवसायीको माग
टुडेपाटी-
जनकपुरधाम, बैशाख १९ गते ।
जनकपुरधामका व्यवसायीले मध्यरातिसम्म व्यापार व्यवसाय सञ्चालन गर्न माग गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी काशीराज दहाललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
उपमहानगरपालिकाको नगर क्षेत्रमा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइदिन व्यवसायीको माग छ ।
खुल्ला सिमाका कारण नेपालमा भारतीय पर्यटकहरुको आवागमन बढिरहेको र बोर्डरमा राति १० बजेसम्म भारतीय पर्यटकहरु नेपाल प्रवेश गर्न सक्ने भएकाले सो व्यवस्था मिलादिन हुन संघले आग्रह गरेको हो ।
जनकपुरधाम नगर क्षेत्रमा राति १२ बजेसम्म पर्यटकका लागि आवश्यक पर्ने होटल, रेष्टुरेन्ट, किराना पसल, फलफुल, फाष्टफुड सहितका पसलहरु खोल्नका लागि सुरक्षाको प्रवन्ध मिलाइदिन ज्ञापन पत्रमा माग गरिएको हो ।
पर्यटकहरु राति १० बजेको समयमा जनकपुरधाम आउँदा बस्ने र खाने होटलहरु बन्द हुने गरेकाले समस्या भइरहेकोको व्यवसायीहरुको भनाइ छ ।
Sponsored
जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र रहेकाले पर्यटक नै असुरक्षित र असन्तुष्ट भए व्यापार घाटा हुने भएकाले सुरक्षा प्रवन्धको मागसहित ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।
ज्ञापन पत्र बुझाउन संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्भु प्रसाद साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष परमेश्वर साहसहितका पदाधिकारी तथा सदस्यहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।