मधेशमा खर्चिलो-भड्किलो चुनाव !
शैलेन्द्र महतो ‘क्रान्ति’-
जनकपुरधाम, वैशाख २८ गते ।
सेकुवा । आहा ! सुन्दै जिब्रो रसाउँछ । सेकुवाको परिकारबाट कलैया प्रख्यात छ । यहाँ पुग्ने जोकोही मांसहारी स्वाद चाख्नेलाई सेकुवाको मगमग बास्नाले तानेर लान्छन् । कलैयाको भरत चोक छिचोल्दा पाइलै पिच्छे सेकुवा खाजा घरहरु छन् । खाजाको घरहरुको भिडमा छन्, नवल सेकुवा पसल । पसलका सञ्चालक सिकिन्दर साहका अनुसार दैनिक १५ देखि २० हजारसम्म कारोबार हुन्छ । तर चैत २० गतेपछि पसलेको आम्दानी दैनिक २५ देखि ३० हजारसम्म पुग्यो । यो क्रम वैशाख १३ गतेसम्म चलिरह्यो । सेकुवा पसलको कारोबार बढ्नुको कारण थियो,– बैशाख १० को उपनिर्वाचन ।
जतिजति चुनावको दिन नजिकिदै गएको थियो उति नै कलैयाका सेकुवा अड्डामा नेता—कार्यकर्ताहरुको भिड् लाग्दै गयो । जसले चुनाव खर्चिलो र भड्किलो भएको झल्को दिन्थ्यो ।
होटेल संचालक सिकिन्द्र भन्छन्, ‘चैत तेश्रोसातादेखि हाम्रो पसलमा ग्राहक बढ्न थाल्यो । हामीलाई अबेर रातिसम्म भ्याईनभ्याई हुनथ्यो ।’ नवल सेकुवा पसल झै सोनलालको सेकुवा पसलमा उस्तै भीडभाड रह्यो । ‘कमाइ ठिकठिकै रह्यो । राति अबेरसम्म खोल्न दिएन । चुनावी लडेका धेरै नेताकार्यकर्ता आउनै सकेनन्’ सोनेलालले सुनाए ’क्षेत्रमा पनि खसी बोका ढालेका ढालेर कार्यकर्ताहरुको लागि खाजाखानाको व्यवस्था गर्ने गरेका थिए ’
नवल र सोनेलालकै सकेुवा जस्तै कलैयाको चोक तथा गल्ली–गल्लीमा रहेको सेकुवामा पसलले चुनावमा राम्रो नाफा कमायो । पसलेको विक्री बढ्नुको अर्को कारण थियो– देशभरीका शीर्षस्थ नेताहरु तथा उनका कार्यकर्ता आफ्ना उम्मेदवारलाई जिताउन कलैयामा स्टेशन खडा गर्नु । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत जस्ता सबै दलका नेताहरु आफै चुनावी मैदानमा खटिएका थिए । उनीहरुको निर्दशन अनुसार शीर्ष नेताहरुको दौडाहा र बाक्लो उठबस थियो कलैयामा ।
जसले बारा २ को चुनावी माहौललाई बैशाखको प्रचण्ड घामले झनै तताएको थियो । मंसीर ४ को निर्वाचनमा यहाँबाट जितेका रामसहाय प्रसाद यादव चैत्र ३ गते उपराष्ट्रपतिमा निर्वाचित भए । यसैकारण यहाँ उपनिर्वाचन भयो । जहाँ सप्तरी २ मा हार व्यहोरेका जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवार बनेका थिए । उनकै उम्मेदवारीले बारा २ को उपनिर्वाचनले देशैको ध्यान तानेको थियो । उनलाई जिताउन गठबन्धन दलका नेता तथा प्रधानमन्त्रीसम्म भोट माग्न आएका थिए ।
Sponsored
चुनावी प्रचारमा प्रयोग भएको गाडीको लसकरले गरिबका छोराले अब चुनाव लड्ने आँट गर्दैनन् भन्ने भान हुन्थ्यो । आँखाले देखेसम्म उम्मेदवारहरुले चुनावी जित हात पार्न सडकमा गाडी गुडाएका थिए भने गाउँमा खसी काटेर भतेर गरेका थिए । साँझ परेपछि कलैयाका सेकुवा खाजा घरमा रक्सी र मासुको अर्को भोज चाल्थ्यो । लाग्थ्यो उम्मेदवारहरु बिच प्रतिस्पर्धा होइन् कि गाडी–गाडी बीच चुनाव भइरहेको छ, कसले कति भोज खुवाउने भन्ने तछाड मछाड चलिरहेको थियो । चुनाव लोकतन्त्र सुन्दरता हो । तर, हालै बारा २ मा सम्पन्न उपनिर्वाचनले लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार भएको टिप्पणी भैरहेको छ । के चुनाव भ्रष्टिकरणको बाटो अघि बढ्यो ? यी र यस्तै खाले थुप्रै प्रश्नहरु जन्माएको छ ।
रोचक त के भने सप्तरी २ मा उपेन्द्रलाई दोब्बर बढी मतले पछाडेको सिके राउत स्वयम् बारा २ को चुनावी मैदानमा उत्रे । आफ्ना पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन । उपचुनावका पूर्व सन्ध्यामा कुशवाहालाई राउतले माओवादी केन्द्रबाट जनमतमा ताने । कुशवाहा मंसिर ४ मा माओवादी केन्द्र तथा गठबन्धनका संयुक्त उम्मेदवार थिए । कुशवाहालाई उम्मेदवार बनाएर राउत चुनावी मैदानमा हाम फाल्दा लाग्थ्यो सिके राउत स्वयम् उम्मेदवार छन् । र सप्तरी २ जस्तै राउत र उपेन्द्रबीच प्रतिष्पर्धा हुँदै छ । यो संयोगले बाराको कलैयामा चहलपहल बढ्न पुग्यो ।
करणराज होटेल, बरेबा दरबार लगायतको होटेल विभिन्न दलका नेताकार्यकर्ताले भरिए । आगन्तुक नेताकार्यकर्ता बिहान कलैयाबाट पाँच किलोमिटर पूर्वमा रहेको बारा क्षेत्र नं. २ मा घुम्ने, चुनाव प्रचार प्रसार गर्ने र साँझ बास बस्न कलैया फर्किने उनीहरुको दैनिकी बन्यो । सबै भन्दा बाक्लो जमघट जसपाकै नेताकार्यकर्ताको देखिन्थ्यो ।
उनीहरु कलैयाको करण राज पाटी प्यालेसमा डेरा हालेका थिए । अन्य दलका नेताकार्यकर्ताको रुपमा बरेबा दरबार लगायत होटेलमा अड्डा जमाएका थिए ।
कलैया चुनावी रणनीतिको निर्माण स्थल थियो । कलैयाबाट ५ किलोमिटर पूर्वमा पर्ने बरा क्षेत्र नं. २ मा विभिन्न दलका झण्डले रंगिन । पोलदेखि पाटी पौवा सार्वजनिकदेखि निजी घर देवालका भित्तामा आकर्षक नारा उल्लेख पोष्टर । प्रचार प्रसारमा कुनै कसर थिएन । प्रायः उपेन्द्र र शिवचन्द्रको पर्चा पोस्टर एकअर्का ठाउँमा अनिवार्य देखिन्थ्यो । त्यही जनमत अध्यक्ष डा. सिके राउतको पृथक शैलीमा प्रचार पोस्टर थियो । स्वतन्त्र मधेशको मुद्दासहित राजनीति सुरु गर्दा पक्राउ परेका, थुनामा रहेका र आक्रमणबाट घाइते भएका तत्कालिन थरी थरीका तस्बिर छापिएको रंगिन ब्यानर लहरै थिए राउतको ।
उपेन्द्र यादवको घरदैलोमा जीपाकार बोलेरो लस्करै थियो । झण्डै तीन दर्जन गाडी उनले सडकमा उतारेका थिए । तुल्नात्मक अन्य दलका उम्मेदवारको घर दैलोमा कम थियो । जनमतका उम्मेदवार कुशवाहा, एमालेका उम्मेदवार पुरुषोतम पौडेल, रास्वपाका उम्मेदावर रमेश खरेल र आम जनता पार्टी (आजपा)का उम्मेदवार अर्जुन ज्ञावालीको उस्ता उस्तै शैलीको घरदैलोको झझल्को थियो ।
जनमतले चुनावी प्रचार प्रसार तथा घरदैलोको लागि पाँचवटा मेश चलाएको थियो । जहाँ बिहानदेखि साँझसम्म चुनावमा खटेका नेताकार्यकर्ताको भोजन र बसाइको व्यवस्थापन गरिएको थियो ।
जसपा र एमालेले घरदैलोमै आफ्ना कार्यकर्ताकको घरमा खानपानको व्यवस्था मिलाउँथ्यो। दलहरुले मतदातालाई प्रभावित पार्न चुनाव अवधिमा भोजभतेर, पैसा बाँड्ने, प्रलोभन दिइने जस्ता क्रियाकलाप नगरेका पनि होइनन् ।
चुनावका क्रममा मधेश प्रदेशका मुख्यमन्त्रीदेखि जसपा र जनमतका मन्त्री समेत चुनावमा खटिएका थिए । सरकारी झण्डावाल गाडीमा कलैयामा राखेर निजी नम्बरप्लेटको गाडीमा उनीहरु ठाउँठाउँ पुगेर आ आफ्ना उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी राखेका थिएनन् ।
निर्वाचनको क्रममा मौनअवधिमा वैशाख ९ गते मधेशका मुख्यमन्त्री सरोजकुमार यादव क्षेत्रमा गएर मतदाता प्रभावित गरेर आचारसंहिता उलंघन गरेको भन्दै भोलिपल्ट चुनावकै दिन निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । तर मुख्यमन्त्री यादव सोही दिन प्रेस विज्ञप्ति जारी गर्दै भ्रममा नपर्न भनेर खण्डन गर्न भ्याए । मुख्यमन्त्री यादवमाथि त्यस पछि के भयो भन्ने कुरा गौण छ । निर्वाचान आयोगले मुख्यमन्त्री यादवले स्पष्टीकरण बुझाएको जनाएको छ ।
’मुख्यमन्त्रीजीलाई आयोगले स्पष्टीकरण सोध्यो । मुख्यमन्त्रीले जवाफ दिनु भयो । आयोगले त्यसलाई हेर्दै छ’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन् ।
मुख्यमन्त्री यादवले त्यो राति क्षेत्रमा पर्ने पचरौतमा आफ्नो भान्जीको घरमा बसेको स्वीकारे । तर चुनावलाई प्रभावित पार्ने आचारसंहिता उलंघनको काम आफूले नगरेको दावी गर्छन् । ’म निजी नम्बरप्लेटको गाडीबाट भन्जीको घर पुगेको थिएँ । चुनावको दिन हो, सकिएपछि ५ बजे निस्किन्छु सोचेको थिएँ । मैले चुनाव प्रभावित गर्न कुनै गतिविधि गरेको थिएन’ उनले भने ’ तर निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि त्यहाँबाट फर्के ’
करोडौं खर्चेर लाखमा चुनाव खर्च विवरण बुझाउने परिपाटी
प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रयोजनको लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम निर्वाचनमा उम्मेदवारले १७ देखि अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्ने व्यवस्था छ । तर चुनावी मैदानमा देखिएको तामझामले त्यति खर्चमा सम्भव छैन ।
बारा २ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले अनुगमनको क्रममा उम्मेदवारहरुले सिमामा रहेर खर्च गरे वा नगरेको एकिन गर्न नसकेको बताउँछन् । ’खर्च सिमामा भित्र गरे वा गरेनन् एकज्याक्ट ठम्याउन गाह्रो छ । चुनाव प्रचारमा मान्नुस् २०– २५ जना हिडे । उनीहरु कुनै होटेलमा बसेर खान खाए । खाएको देख्दा त भोजै खाए जस्तो देखिन्छ नि !’, उनले भने ’अब यसलाई कसरी लिने ? ठम्याउन बडो कठिन छ’ चुनाव अवधिमा कुनै प्रकारको उजुरी नआएको उनको भनाइ छ ।
चुनावमा तामझाम हुनु नौलो कुरा होइन । देख्दा करोडौं खर्चिने जस्तो उम्मेदवार पनि निर्वाचन खर्च विवरण बुझाउँदा लाखमा बुझाउने गरेका छन् । गत मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरुले आयोगले तोकेकै परिधिभित्र रहेर खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बारा प्रमुख सरोजकुमार चौधरी बताउँछन् । ’गत मंसिर ४ गते सम्पन्न निर्वानको अहिलेसम्म उम्मेदवारहरुले बुझाएको खर्त विवरणमा तोकिए भन्दा बढी कसैले खर्च विवरण बुझाएका छैनन् । सबै उम्मेदवारकको खर्च विवरण ३३ लाख भन्दा कमै छन् ।’
चुनाव सकिएको ३५ दिन भित्र चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ । हालसम्म बारा क्षेत्र नं. २ उपनिर्वाचनका उम्मेदवारहरुले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालय बाराका प्रमुख चौधरीले बताए । उनले निर्वाचन कार्यालयको काम निर्वाचन सामग्री व्यवस्थापनको रहेकाले आफूहरू त्यसमै व्यस्त भएको बताए ।
तुल्नात्मक जसपाको घरदैलोमा देखिएको गाडीको लस्कर तथा आगन्तुक नेता कार्यकर्ताको होटेलमा बासले बढी खर्च भएको हुन सक्ने अनुमान छ । तर जसपा नेता योगेन्द्र यादव अध्यक्षलाई जिताउन सबैले आ आफ्नो स्थानबाट स्वस्फूर्त रुपमा सहयोग गरेको तर्क गर्छन् ।
’जे जति नेताकार्यकर्ता र भीड देखिनु भयो । अध्यक्षजीलाई जिताउन स्वःस्फूर्त रुपमा आएका थिए । उनीहरुले आफ्नो खर्च आफै बेहोरे । अध्यक्षजीको थोरे खर्च भएको छ ’ उनले भने ।
घरदैलोमा जाँदा कार्यर्ताहरु आफै खाना खाजाको व्यवस्थापन गरेको र होटेलमा बसेका नेताकार्यकर्ता आफै बसे, खाएको र गाडीहरुको भाडा तिरेको उनी बताउँछन् ।
जनमतका नेता विपी साह आफ्ना आफ्ना दलका उम्मेदवार कुशवाहाको चुनाव खर्च ३० लाख रुपैयाँ भन्दा कमै रहेको बताउँछन् ।
’पाँचवटा मेशमा दैनिक ३ सय जना खाना खान्थे । सादा खाना दाल भात र तरकारी । बसाई मेशमै थियो । गाडी सबै मिलाएर ६ वटा मात्र थियो । प्रचार प्रसार कुशवाहाको तडकभडक थिएन । त्यसैले ३० लमखसम्म खर्च भन्दा बढी खर्च भएको छैन ’ उनले भने ।
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले निर्वाचनमा २८ देखि ३० लाख रुपैयाँ खर्च भएको हुन सक्ने बताए ।अब केहीदिन भित्रै चुनाव खर्च बुझाउने उनको भनाइ छ ।
चुनावको स्वच्छतामाथि प्रश्न !
चुनावमा एकआध घटना पनि भयो । जसले चुनावको स्वच्छतामाथि प्रश्न उठेको छ । मौन अवधिमा गढीमाइ नगरपालिकामा पर्ने बरियारपुरको भवानीपुरमा चुनावकै निहुमा एक महिलालाई दुर्ववहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको थियो । पछि सम्झाइ बुझाई घरपरिवारलाई जिम्मा लगाएको बाराका एसपी बताउँछन् ।
चुनवाकै दिन जनमतका अध्यक्ष डा. सिके राउतले पाँचवटा बुथ जसपाले कब्जा गरेको र प्रहरीले आफूलाई घेराबन्दी गरेको दावी गरेका थिए ।
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पनि चुनमवको दिन आफ्नो सामाजिक सञ्जाल फेसबुकमा विभिन्न घटना देखाउँदै धांधली भएको बताउँदै निर्वाचनको स्वच्छता माथि प्रश्न उठाएका थिए ।
’ठाउ ठाउमा मतदाताहरु रोक्ने, ईनरवा , सनफुलवा, कल्यानवा ( सिचाई ) लगायत वुथहरुमा प्रहरीका सई,असै नै गठवन्धनको पक्षमा मतदान गराउन लाग्ने, कव्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धांधलीका रुपहरु नांगो रुपमा देखिई रहेका छन । यसले स्वच्छ निर्वाचन गराउने गठवन्धन सरकारको चरित्र प्रष्ट पारेको छ । हामी यस प्रकारका गतिविधी रोक्न र निस्पक्ष निर्वाचन गराउन जोडदार माग गर्दछौ’ उनले लेखेका थिए ।
बाराको देवताल गाउँपालिका– ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका थिए ।
तर बाराका एसपी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले चुनावी अवधिमा कुनै अप्रिय घटना नभएको दावी गर्छन् ।
’चुनाव संगै सम्वन्धित विषयलाई लिएर त्यस्तो केही पनि घटना भएन ’ एसपीले भने । बारा २ को केही घटनाले निर्वाचन भय रहित मर्यादित वातावरणमा सम्पन भएको कुरामा प्रश्न उब्जाएकै छ । तर निर्वाचन आयोगले एक क्षेत्रको एक आध घट्नालाई मूल्यांकन गरेर नहुने बताउँदै समग्रमा उपनिर्वाचन भयरहित वातावरणमा स्वच्छ निष्पक्ष र मर्यादित रहेको दावी गर्छ ।
एउटा ठाउँलाई हेरेर मूल्यांकन गरेर हुन्न । ओभर अलमा उपनिर्वाचनको कुरा गर्दा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको हाम्रो निष्कर्ष छ’ आयोगका प्रवक्ता शर्मा शालिग्राम शर्मा पौडेल भन्छन् ।
उनले अगाडि भन्छन् ’ मिडियामै आएको कुरालाई लिएर आयोगले ड्यांगकी ड्यांग कारबाही गर्दै हिड्ने कुरा पनि हुन्न । कानुन मिचेका आएका कुरामा सफाइ पेश गर्ने मौका दिनुपर्छ । त्यसमा आयोगले आवश्यक कारबाही गर्छ ।’
चुनाव भड्किलो र खर्चिलो हुनुमा सचेत मतदाता नहुनु र उम्मेदवारको बैचारिक राजनीतिमा खडेरी कारक तत्व रहेको विश्लेषण भइरहेको छ । त्यसकारण जुनसुकै चुनाव खर्चिलो हुने गरेको राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार चन्द्रकिशोरको बुझाइ छ ।
’चुनाव खर्चिलो भडकिलो पहिलेदेखि नै छन् । उप निर्वाचनमा देशभर तीनवटा क्षेत्र मात्रै रहेकाले सबैको फोकस नोटिसमा बढी आयो ’ उनले भने’राजनीतिक दल तथा उम्मेदवारको एजेण्डा र विश्वसनीयता कमजोरको परिणाम हो खर्चिलो भड्किलो चुनाव ।’
उपेन्द्र जितेपछि हातीमा चढेर विजय जुलुस
सम्पूर्ण शक्ति क्षेत्रमा उतारेका जसपा अध्यक्ष तथा पाँचदलीय गठबन्धनका उम्मेदवार उपेन्द्र यादव अनन्तः चुनाव जित्न निकाले । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै विजयी भए । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा कुशवाहा २३ हजार ३३४ मतमा समित भए ।
यस्तै तेस्रोमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मत, चौथो नम्बरमा रास्वपाका उम्मेदवार रमेश खरेल २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञावाली २ हजार ७३८ मत पाएका थिए ।
जित पश्चात् जसपाले हाती घोडाको सवारीसहित विजय जुलुस गर्न पछि परेन । पार्टी अध्यक्ष जितेको खुशीमा मुख्यमन्त्री सरोज कुमार यादव हातीमै सवार भएर विजय जुलुसमा सहभागी भए ।