TodayPati

मधेश प्रदेश : बीमाको रकम पाउन श्रीमानको करेन्ट लगाएर हत्या

टुडेपाटी–
सप्तरी, चैत १५ गते ।

सप्तरीमा बीमाको रकम पाउनका लागि आफ्नै पत्तिको करेन्ट लगाएर हत्या गरेको घटना बाहिरीएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिका–३ दास टोलमा एक महिलाले बीमाको रकम हात पार्न पतिको हत्या गरेको खुलेको छ ।

Sponsored

बुधबार ईलाका प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गर्दै सो घटना सार्वजनिक गरेको छ ।

स्थानीय कोशिलादेवी दासले आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको थियो । अनुसन्धान गर्दा पाँच महिनापछि शिवशंकरको करेन्ट लागेर नभई करेन्ट लगाएर हत्या गरिएको खुलेको प्रहरी नायव उपरीक्षक रायले बताए ।

Sponsored

प्रहरी नायव उपरीक्षक रायका अनुसार पक्राउ परेकाहरुले दिएको बयान अनुसार ऋणको रकम चुक्ता गर्न सो घटना घटाएको हो ।

उनले भने, ‘शिव शंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गराउनका लागि भाउजु नाता पर्ने शान्तीदेवीसँग ऋण लिएको थियो, ऋण चुक्ता गर्न शान्तीदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् ।’

शिवशंकर र कोशिलादेवीले ऋण तिर्न असमर्थता देखाउन थालेपछि शान्तीदेवीले नै हत्या गर्न सुझाएको तथा हत्यापछि आउने बीमा रकमबाट ऋण चुक्ता भएर अरु रकम बाँकी रहने भन्दै योजना तयार पारेकी थिइन् ।

योजनाअनुसार कात्तिक ५ गते शान्तीदेवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर घरतर्फ पठाएकी थिइन् ।

मातेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि सुतेकै बेला कोशिलादेवीले शिवशंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाइ हत्या गरेको वयान दिएकी प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए ।

हत्यापछि कोशिलाले आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेपछि शंकाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *