TodayPati

चन्द्रनगर गाउँपालिकामै किसानलाई कृषि मिटर वितरण

टुडेपाटी

सर्लाही, चैत १४ गते ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कृषि मिटर वितरण भइरहेको छ । गाउँपालिका कार्यालयको समन्वयमा नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रले किसानलाई विद्युत मिटर वितरण थालेको हो ।

Sponsored

गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रको समन्वयमा मंगलबारदेखि किसानहरुलाई कृषि मिटर वितरण गरिरहेको छ । विद्युत प्राधिकरणका कर्मचारी गाउँपालिकामै आएर आवश्यक पकृया पुरा गरी मिटर वितरण कार्य सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेश यादवले बताए ।

कृषि मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेश गर्ने, फारम रुजु सिस्टमेट गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझने , मिटरको लगत कायम गर्ने, मिटर जडान गरी बत्ती प्रकाश गर्ने लगायत सबै चरणको काम गाउँपालिकामा भइसकेकाले अब प्राविधिकरणले किसानको खेत खेतमै पुगेर कृषि मिटर जडान गर्ने प्रमुख यादबले बताए ।

विद्युत चुहाबट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ । विद्युत् मिटरका लागि किसानले मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था थियो । गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि किसानहरु हर्षित भएका छन् ।

Sponsored

चालू आर्थिक वर्ष ०७९÷८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गएको पुस २९ गते सम्पन्न १२औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको थियो ।
सोही अनुरुप विद्युत चुहावट अन्त्य गर्न चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो पटक कृषि मिटर गाउँपालिका बाटै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष महतोले बताए ।

३८ हजार जनसंख्या रहेको यस पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । सहज सिँचाइ हुने, कृषि उत्पादन बढ्ने र किसानको लागतसमेत घट्ने भएकाले विद्युत् महसुल गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महतोले बताउँछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *