महोत्तरीमा दलितको भोज खाएको भन्दै सामाजिक बहिष्कार
टुडेपाटी–
जनकपुरधाम, फागुन १९ गते ।
महोत्तरीमा दलितको भोज खाएको भन्दै एक परिवार सामाजिक बहिष्कारमा परेको छ ।
जिल्लाको सोनमा गाउँपालिका ४ खेसराहाका भिखारी महतोको परिवारलाई समाजले बहिष्कार गरेको हो ।
गत पुस १९ गते महतोले गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएपछि उनी सामाजिक बहिष्कारमा परेका हुन् ।
रामको घरमा छठिहारको भोज खाएपछि महतोलाई कोइरी समुदायले बहिष्कार गरेको हो ।
उनलाई सार्वजनिक रुपमा माफी नमागेसम्म जातमा समावेश नगर्ने अडान उनको जातको छ ।
Sponsored
स्थानीय रामचन्द्र महतो, शंकर महतो, सितो महतो, जवाहर महतो, रामसृष्ठ महतो, दुखा महतो लगायतले चमारको भोज खाएको निहुँमा पञ्चायतमा दुर्व्यवहार समेत गरेको उनको गुनासो छ ।
शुभनारायणको घरमा भोज खाएयता भिखारीलाई गाउँघरमा हुने कोइरी, यादव समुदायको कुनै पनि भोजमा सरिक हुन दिइएको छैन ।
घटना पश्चात महतोले दोषीहरुमाथि कारबाही र न्याय माग्दै इलाका प्रहरी कार्याय गौशालामा उजुरी दिएका छन् । तर उजुरीमाथि प्रहरीले खासै चासो नदिएको उनको आरोप छ ।
शुभनारायणले पनि भिखारीलाई आफ्नो घरमा भोज खाएको निहुँमा अछूत भन्दै भातपानी बारेको बताए ।
यता इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भुवनसिंह कार्कीले महतोको उजुरी आएको र आरोपीहरुलाई बोलाएर सोधपुछ गर्ने कार्य भएको बताए ।