मधेश प्रदेश : लागूऔषधसहित चारजना पक्राउ
टुडेपाटी-
वीरगञ्ज, फागुन ४ गते ।
वीरगञ्जबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका ८ बस्ने १९ वर्षीय राजु मन्सुरी, लालबन्दी–७ बस्ने २० वर्षीय राजु राना मगर, १९ वर्षीय विशाल मोक्तान, धादिङको गजुरी नगरपालिका २ बस्ने २० वर्षीय अजय तामाङ छन् ।
प्रहरीले फागुन ३ गते बुधबार साँझ ७ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ मा रहेको डाँफे होटलबाट उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरी चौकी बसपार्कको टोलीले उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध बरामद गरेको प्रहरीको दावी छ ।
उनीहरुलाई प्लाष्टिकको झोलामा लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागु औषध डाइजेपाम, नुरफिन, फेनारगन ५०-५० एम्पुल गरी जम्मा १५० एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
लागु औषध सहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा लागु औषध सम्बन्धि मुद्दा अत्याधिक आउने गरेको छ ।
माघ महिनामा मात्रै कार्यालयमा ३० वटा लागु औषधको मुद्दा दर्ता भएको छ । विदेशी ३ जना पुरुष, ३८ जना नेपाली पुरुष र २ जना महिला पक्राउ परेको प्रहरीको तथ्याङ्क छ ।
Sponsored
११।३ किलो गाजा, हिरोईन ५ ग्राम, ८३ एम्पुल डाईजील्याब, नुरफिन ८६ एम्पुल, फेनारगन ८४ एम्पुल, १ हजार ४ सय ३२ पिस नाईट्राभेट ट्याबलेट, अन्य ट्याबलेट २ सय ४० थान र १ सय एमएलको कोरेक्स ४ सय ६२ बोतल बरामद भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले बताए ।