मधेश प्रदेश : करार कर्मचारीको म्याद थप्ने विषयमा विवाद, अनिश्चितकालका लागि अस्पताल बन्द
टुडेपाटी–
बारा, माघ १९ गते ।
सिम्रौनगढ नगरपालिकाले करार सेवाका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निकाल्न नगर अस्पतालको ओपिडी बाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द गराएपछि कर्मचारीले गरेको ताबन्दीका कारण अस्पतालको सबै सेवा बन्द भएको छ ।
नगरपालिकाको एकमात्र सुविधासम्पन्न अस्पतालको सेवा ठप्प बनेपछि स्थानीय सेवाग्राही प्रभावित बनेका छन् ।
नगरपालिका स्वास्थ्य शाखाको आदेशमा अस्पतालको ओपिडिबाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द रहने सूचना गरिएको थियो । सोमबार स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले सूचना निकालेर आदेशअनुसार ओपीडी (बहिरंग) बाहेकका सबै सेवा अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिए ।
आन्दोलनरत करारका कर्मचारीले स्वास्थ्य शाखाको निर्णय विरुद्ध ओपीडि संचालनमा पनि रोक लगाएपछि अस्पतालको सबै सेवा बन्द भएको छ ।
करार कर्मचारीको अवधि थप गर्ने विषयमा लामो समयदेखि विवाद झेल्दै आएको नगरपालिकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई निकाल्न अस्पतालको सेवा नै बन्द गरेको कर्मचारीहरुले बताएका छन् ।
Sponsored
स्वास्थ्यकर्मी र कर्मचारीसमेत गरी कुल २८ जना कार्यरत अस्पतालबाट नगरपालिकाले ३ जनाको मात्रै करार अवधि थप गर्ने निर्णय गत असोजमा नै गरेको थियो ।
कर्मचारीहरु काममा आउन नछोडेपछि अस्पताल नै बन्द गरेर कर्मचारीहरुलाई निकाल्न खोजिएको करार सेवाका अहेब अयुब अन्सारीले बताए ।