मधेश प्रदेश : राजश्व छलेर ल्याएको आशंकामा दुई करोडभन्दा बढीको सामानसहित गाडी नियन्त्रणमा
टुडेपाटी–
पर्सा, माघ १० गते ।
भन्सार छली गरेर ल्याएको दुई करोडभन्दा बढी मूल्यको तस्करीको सामानसहित प्रहरीले तीनवटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
सोमबार प्रहरीले भारतबाट राजश्व छलेर भित्र्याइएको आशंकामा वीरगन्जको ड्राइपोर्ट चोक र आदर्शनगरबाट ती मालसामान सहितको दुईवटा ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिएको हो।
वीरगन्जको आइसिपी हुँदै काठमाडौं जाँदै गरेको बीआर ०५ जी ९४९१ नम्बरको पिकअप गाडी वीरगन्ज २६ ड्राइपोर्ट चोकबाट, ना ५ ख ३८४७ नम्बरको ट्रक र बाप्र ०३–००१ ख १२६४ नम्बरको ट्रक वीरगन्ज १० आदर्शनगरबाट प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार चेकजाँचका क्रममा तीनवटै मालवाहक गाडीबाट बिलबिजक नभएका करिब २ करोड १२ लाख ९२ हजार ४५२ रुपैयाँ मूल्यको लत्ताकपडा र खुद्रा सामानहरू बरामद भएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको तीनवटै गाडी अनुसन्धान तथा आवश्यक कारबाहीका लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरीले बताए।
Sponsored