मधेश प्रदेश : स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुईजना पक्राउ
टुडेपाटी–
पर्सा, माघ ४ गते ।
हुन्डी कारोबार गरेको आरोपमा पर्सामा दुई जना स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्।
साढे २२ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ नगवा बस्ने ३४ वर्षीय विकास साह र वडा १८ इनर्वा मनियारी बस्ने १९ वर्षीय सुवासकुमार साह रहेका छन् ।
मंगलबार वीरगन्ज महानगरपालिका ८ घण्टाघरस्थित सडकमा उनीहरू सवार भारतीय नम्बरको स्कुटरमा प्रहरीले चेक गर्दा पछाडि सवार सुवासकुमार साहले बोकेको झोलाबाट साढे २२ लाख नेपाली रुपैयाँ फेला पारेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Sponsored