जनकपुरधाममा दुई छिमेकीको झगडामा ट्राफिक प्रहरीद्वारा हातपात, जिल्लाले थाल्यो अनुसन्धान
टुडेपाटी–
जनकपुरधाम, भदौ २९ गते ।
जनकपुरधाममा दुई छिमेकीको झगडामा ट्राफिक प्रहरीले एक पक्षलाई हातपात गरेको पाइएको छ । जनकपुरधाममा हुने अस्तव्यस्त ट्राफिक व्यवस्थापन गर्नुको साटो दुई छिमेकीको झगडामा सहभागी भएर ट्राफिक प्रहरीका वरिष्ठ सईले हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भाइरल भिडियोमा देखिएका अनुसार ट्राफिक प्रहरीका वरिष्ठ सई राजिव तिवारीले घरायसी झगडामा कुनै एकपक्षमा लागेर कुटपिटमा उत्रेका हुन् ।
सोमबार वरिष्ठ सई तिवारी घरायसी विवाद मिलाउन पुगेको र त्यसमा पनि उनी दबंग शैलीले प्रस्तुत भई एक सर्वसाधारणलाई कुटपिटसमेत गरेको घटना बाहिरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ मा घर निर्माण गरिरहेका बेचन साहको घरमा पुगेर ट्राफिक प्रहरीका वरिष्ठ सई तिवारी बर्दीमै पुगेर उनीमाथि हातपात गरेका हुन् ।
सोही ठाउँ बस्ने आलोक ठाकुर र बेचन साहबिच भएको सामान्य विवादका क्रममा आलोक सई तिवारीको साथी रहेकोले उनको पक्षमा गुण्डाशैलीमा प्रस्तुत भई तिवारीले आफूलाई कुटपिट गरेको बेचनले बताए । उनले तिवारीले आफूलाई लछारपछार समेत गरेको बताए ।
Sponsored
बेचनले आफ्नो निर्माणधिन घरमा मजदुरहरुले काम गरिरहेको बेला सोही बाटो हुँदै गईरहेको क्रममा आलोक ठाकुरको शरीरमा माथिबाट सिमेन्ट झरेको र सोही रिसिइबीका कारण आफूलाई ट्राफिक प्रहरी बोलाएर कुटपिट गर्न लगाएको आरोप लगाए ।
उनले यसअघि पनि आलोकले आफूसँग पटक पटक झगडा गर्दै आएको र पछि सोही ट्राफिकलाई बोलाएर आफूमाथि कुटपिट गर्न लगाएको बताए ।
यता, वरिष्ठ सई तिवारीले आफ्नो शरीरमाथि साहको घरमा काम गरिरहेका मजदुरहरुले सिमेन्ट फालेकोले आवेशमा आएर यस्तो भएको हुनसक्ने स्वीकार गरेका छन् । उनले त्यतिबेला आफू आवेशमा आएकोले आफूसँग सामान्य गल्ती भएको हुनसक्ने बताए ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरिक्षक चन्द्रभुषण यादवले ट्राफिक प्रहरीको मुख्य दायित्व भनेकै ट्राफिक व्यवस्थापन रहेको र आफुले पनि भाइरल भिडियो देखेको भन्दै उनले ट्राफिक प्रहरीले झै झगडा देखेमा सम्बन्धीत निकायलाई जानकारी गराउनुपर्ने रहेको बताए ।
उनले झैझगडा भइरहेको अवस्थामा सम्बन्धीत निकाय नभए ट्राफिक प्रहरीले उनीहरुलाई सम्बन्धीत निकायमा पु¥याई दिनुपर्नेमा त्यस्तो नदेखिएकोले यस सम्बन्धमा छानविन सुरु गरेको बताए । उनले भिडियोमा देखिएको अनुसार ट्राफिक प्रहरीकै गल्ती देखिएको स्विकार गरे ।