मधेश प्रदेश : गाउँपालिका उपाध्यक्षविरुद्ध मिटर ब्याजीको उजुरी
टुडेपाटी-
सप्तरी, भदौ ८ गते ।
सप्तरीमा एकजना जनप्रतिनिधिविरुध मिटर ब्याजीको उजुरी परेको छ ।
जिल्लाको तिलाठी कौइलाडी गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहविरुद्ध मिटर ब्याजीको उजुरी परेको हो ।
तिलाठी कौइलाडी–६ की उपाध्यक्ष साहविरुद्ध सोही वडाकी सुनितादेवी मण्डलले आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएकी छन् ।
उजुरीकर्ताका सासू लक्ष्मीनियादेवी तथा ससुरा नैमानी मण्डलले २०६१ सालमा दुई पटक गरी लिएको रु ४० हजार ऋण ब्याजसहित फिर्ता गरे पनि ऋण लिँदा पारित गर्न लगाएको जग्गा हालसम्म फिर्ता नगरेको मण्डलले आरोप लगाएकी छन् ।
प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयसँग समवन्य गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
Sponsored
प्राप्त उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराइएको जनाउँदै प्रमुख जिल्ला अधिकारी गौतमले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको बताए ।
यसअघि प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सप्तरीका मिटरब्याजी रामदेव साहका छोरा नन्दकिशोर र छोरी अनुराधा असार २२ गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
सप्तरीमा ११४ वटा उजुरी मिटर ब्याजीविरुद्ध परेको हो ।