TodayPati

मधेश प्रदेश : सयौँ विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

टुडेपाटी–
बारा, भदौ ४ गते ।

बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ ।

तर, बाराको आदर्श कोटवाल गाँउपालिका(५ मा रहेको नेरा आधारभूत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पलेँटी कसेर पढ्न बाध्य छन् ।

Sponsored

स्थानीय सरकारले पनि यस्तो समस्या बेवास्ता गर्दा तत्काल सुधार हुने छाँटकाँट देखिँदैन ।

आदर्श कोटवाल–५ मा रहेको यस आधारभूत विद्यालयको अवस्था निकै नाजुक छ ।

पटक पटक स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे पनि प्राथमिकतामा नपरेको स्थानीयको भनाइ छ ।

Sponsored

तीन वर्षअघि गाउँपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँच कोठे भवनमा सुधारका लागि थप लगानी भएको छैन । यही कारण बालबालिकाहरू जीर्ण विद्यालय भवनको चौर, बरन्डाको चिसो भुइँमा बसेर पढ्न वाध्य छन् । यसरी पढ्दा बालबालिकाको स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक शारदा सिंहले गुनासो गरिन् ।

१ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् । विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर बहु कक्षा सञ्चालन गर्दै आइरहेको छ ।

यस विद्यालयमा विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ ।

यता आदर्श कोटवाल गाँउपालिका अध्यक्ष जवाहरप्रसाद साहले चाडै नै पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने र अब बालबालिका चिसो भुइँमा बसेर पढ्ने समस्या चाडै समाधान निकाल्ने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *