भरुवा बन्दुक र ५ किलो सुनचाँदीको गहनासहित बाराबाट २ जना पक्राउ
टुडेपाटी-
बारा, भदौ ४ गते ।
भरुवा बन्दुक, पाँच किलो चाँदी र सुनसहित दुई जनालाई बाराबाट पक्राउ गरेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका १७ रामनगर गुम्बा टोल बस्ने सञ्जीव बललाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
प्रहरी चौकी जैतापुर, बारासमेतबाट खटिएको प्रहरी टोलीले बलको घरबाट सिरकले लुकाई राखिएको एक थान लोड गरिएको भरुवा बन्दुक र सोमा प्रयोग हुने पाँच थान बेरिङ बरामद गरेको बाराका प्रहरी प्रबक्ता राजेश थापाले जानकारी दिए ।
यसैगरी बाराको बिश्रामपुर गाउँपालिका १ छतवाबाट प्रहरीले चाँदी र सुनसहित एक जनालाई पक्राउ गरेको छ । सीमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने २९ वर्षीय रामविनय साहलाई चाँदी र सुनसहित पक्राउ गरेको प्रहरी प्रवक्ता थापाले बताए ।
ना ६१ प ९३४० नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्राएको अवस्थामा साहको साथबाट ५ किलो ९९८ ग्राम चाँदी र ५७.६१ ग्राम सुन बरामद गरिएको थापाको भनाइ छ ।
Sponsored
चाँदी र सुनसहित पक्राउ परेका साहलाई आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।