महोत्तरी : धराशायी बन्दै रेमिट्यान्ससँग साटिएको अटो व्यवसाय, विकल्प खोज्दै व्यवसायी
विशाल बस्नेत-
महोत्तरी, साउन १३ गते ।
भारतमा ३२ वर्ष काम गरेर फर्किएका तिलक परियार दर्जी अहिले आफ्नै घरगाउँमा अटो चालक छन् । लामो समयसम्म भारतको एक कम्पनीमा चालकको काम गर्दै आएका परियार स्वदेश आएपछि अटो खरिद गरेर गाउँघरमै स्वरोजगार त बने तर अझै सन्तुष्ट बन्न सकेका भने छैनन् ।
५ वर्ष अगाडि अटो लिएर आफ्नै घरगाउँमा स्थानीय ओसारपसार गर्दा परियारलाई छुट्टै आनन्द थियो । उनी दिनभर बर्दिबास बजारबाट कालापानी, भिमान, पाटु, लालगढमा मान्छे ओसारपसार गर्दा भ्याईनभ्याई हुन्थ्यो तर अहिले समय बदलिएको छ अनि प्रतिस्पर्धा पनि ।
परियारले ऊबेला अटो चलाउँदा निकै कम थिए । अहिले बर्दिबासबाट विभिन्न ठाउँमा चल्ने तेब्बर अटो छन् । परियारले अटो खरिद गरेर चलाउन सुरु गर्दा सयको हाराहारीमा मात्र थिए तर अहिले त्यो सङ्ख्या बढेर तेब्बर भएको छ । अर्थात् ५०० भन्दा बढी अटो सडकमा गुडिरहेका छन् ।
‘ऊबेला ४० देखि ५० हजार कमाइ हुन्थ्यो, अहिले १५ हजार पनि मरेर हुन्छ’, उनले भने । परियारको जस्तै ३ वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका गुणराज भण्डारीको पनि उस्तै व्यथा छ । ३ वर्ष अगाडि मलेसियाबाट फर्किएर बर्दिबासमा नै अटो चालक बनेका भण्डारी पनि अहिले पहिलाको भन्दा हतोत्साहित भएका छन् ।
अटो चलाएर नै ६ जनाको परिवार धान्दै आएका भण्डारी अहिले अटो व्यवसाय भन्दा पनि अन्य पेसा रोज्नुपर्ने मनस्थितिमा पुगेका छन् । ‘पेट्रोलको भाउ बढेर आकाशिएको छ । सामान्य भाडा दरमा यात्रुहरू बार्गेनिङ गर्छन् अनि कसरी चलाउन सकिन्छ’, उनले भने ।
Sponsored
आफ्नै परिवारसँग बसेर थोरै आम्दानी लिएर भए पनि सन्तुष्ट बन्ने चाहनामा पेट्रोलको महँगो मूल्य, अटो चालकको सङ्ख्यामा वृद्धि जस्ता कारकहरू भण्डारीका लागि बाधक बनेका छन् । बर्दिबासमा अटो व्यवसाय गर्नेहरु प्रायः विदेशबाट फर्किएर आएका हुन् । आफ्नै देशमा केही गर्ने अभिलासा लिएर फर्किएकाहरूका लागि उचित वातावरण निर्माण नहुन नसक्दा सबै अटो चालकहरूको जोस र काम गर्ने जाँगर निष्क्रिय भएको छ ।
‘कसैले किन्न आए म त तुरुन्त बेचेर फेरि विदेश नै जान्थेँ । यस्तो जाबो काम गरेर कहिले माथि लाग्ने ?’, अर्का अटो चालक धनबहादुर तामाङ भन्छन् । तामाङले पनि भण्डारी र परियारको जस्तै सपना बुनेका थिए ।
मलेसियामा पाएको दुःख र गरेको सङ्घर्ष सम्झिएर स्वदेशमै पसिना बगाउने प्रतिज्ञा गरेर आएका तामाङको कथा पनि भण्डारी र परियारको भन्दा फरक बन्न सकेन । अटो व्यवसायीहरूले अन्य व्यवसायीले जस्तै सरकारलाई कर तिरेका छन्, रुट पर्मिटमा पैसा तिरेका छन्, आम्दानी कर तिरेका छन्, त्यही पनि सरकारको बेवास्ताको सिकार बन्दा दुःख लाग्ने उनीहरू बताउँछन् ।
हरेकले व्यवसाय गर्न पाउने अधिकार छ तर अटो व्यवसाय गरेर स्वरोजगार बनेका व्यवसायीहरूको अवस्थालाई स्थानीय सरकारले व्यस्थित गरे केही हदसम्म भए पनि समस्याहरू न्यूनीकरण हुने व्यवसायीहरू बताउँछन् । अहिले बर्दिबास स्थानीयका लागि मात्र होइन, लालगढ, गौशाला, भिमान, सम्सीका लागि समेत कर्मथलो बनेको छ ।
यसैले पनि स्थानीय अटो व्यवसायीहरूलाई व्यावसायिक समस्या बढिरहेको उनहरूको गुनासो छ । स्थानीय सरकारले यसलाई गम्भीरताका साथ मनन गर्नुपर्ने व्यवसायीहरूको माग छ ।
प्रशासनले समेत अटो व्यवसायीहरूलाई दुःख दिने गरेको अटो चालकहरूको गुनासो छ । मालवाहक ट्रक तथा नीजि सवारी साधनले समेत आँखै अगाडि यात्रु ओसारपसार गर्दा निकै समस्या बन्दै गएको उनीहरू बताउँछन्। हुनत अटोले बर्दिबासलगायत अन्य छिमेकी पालिकाहरूमा समेत यात्रामा सहज बनेको छ । कोही बिरामी वा कतै जानुपर्यो भने अटो नै आवतजावतमा सहज बन्दै गएको स्थानीय बताउँछन् ।
सबै ठाउँमा यातायातका अन्य साधनको पहुँच नभएका कारण पनि अटोप्रतिको आकर्षण कायम नै छ। तर, अटो व्यवसायी भने पेसाबाट पलायन बन्नुपर्ने अवस्थाले यहाँका बासिन्दामा समेत निराशा छाएको छ। ‘अटो व्यवसायी छन् र त पैसा तिरे पनि सहज छ’, स्थानीय प्रेम विक भन्छन्, ‘अप्ठ्यारोमा अटो आवतजावतका लागि निकै सहज बनेको छ । बिरामी हुँदासमेत अटोले एम्बुलेन्सको काम गर्ने भएकाले अटो बढेर हामीलाई फाइदा नै छ नि !’
तर, विदेशबाट फर्किएका अटो चालकहरू आफै सन्तुष्ट बन्न नसक्दा फेरि पलायनको बाटोलाइ नै प्राथमिकता दिन थालेका छन् । बर्दिबासमा चल्ने ५०० जना अटो चालकमध्ये २५ जनाभन्दा बढी पुनः विदेश जाने निर्णयसहित व्यवसायबाटै पलायन भएका छन् भने अन्य व्यवसायीहरूले समेत विकल्प खोजिरहेका अटो चालकहरूको भनाइ छ ।