मधेश प्रदेश : हत्या आरोपमा श्रीमान र ससुरासहित तीनजना पक्राउ
टुडेपाटी–
सर्लाही, साउन ६ गते ।
सर्लाही प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको पर्सा गाउँपालिका १ का बालदत्त भन्ने रमजेश कुमार रायको श्रीमती २० वर्षीया निशा यादवको हत्याको आरोपमा श्रीमानसहित ससुरा राम प्रताप राय र देवर राजु यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गत जेठ २२ गते रातिदेखि आफ्नो घरबाट हराएकी निशाको शुक्रवार बिहान शव फेला परेको हो ।
घरबाट निशा बेपता भएपछि बुवा कैलाश रायले छोरी हराएको भन्दै जेठ २३ गते र ससुराले बुहारी हराएको भन्दै जेठ २४ गते प्रहरीमा खोजतलाशका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
प्रहरीमा निवेदन परेपछि खोजतला गर्ने क्रममा घर परिवार तथा शंकित व्यक्तिहरुसँगको सोधपुछ तथा प्रविधियूक्त बिश्लेषण गर्ने क्रममा निशाको घर परिवारको सदस्यहरुमाथि शंका लागि श्रीमान, ससुरा र देवरसँग घटनाको सम्बन्धमा बास्तविक बुझ्ने क्रममा उनीहरुले हत्या गरेर फ्याकेको खुलेको प्रहरीले जनाएका छन् ।
Sponsored
तीनैजनाले निशाको हत्या गरेर घरदेखि करिव ४ किलोमिटर पूर्व उत्तर तर्फ रहेको आफ्नै खेतमा खाल्डो खनी निशाको लाश पुरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले बताए ।
शुक्रवार विहान तिनीहरुको बयानको आधारमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक प्रवीण पोखरेलसहितको टोली आरोपितले देखाएको स्थानमा धान रोपेको खेतको आली छेउमा ६ फिट भन्दा बढी गहिराईसम्म खाल्डो खन्दा जलेको अवस्थामा निशाको शव फेला परेको प्रहरी नायव उपरीक्षक यादवले बताए ।
हत्याको कारण अहिले नखुलेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।