मिथिला नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा
टुडेपाटी-
जनकपुरधाम, असार २० गते ।
धनुषाको मिथिला नगरपालिका वडा नं २ नक्टाझिजमा नगरस्तरीय नागरिक आरोग्य सेवा केन्द्र संचालन भएको छ ।
मिथिला नगरपालिकाको मेयर महेन्द्र महतोले उद्घाटन गरेर सेवा केन्द्र संचालनमा ल्याएका हुन् ।
नक्टाझिजको एभरेष्ट युवा क्लवको भवनमा आयुर्वेदिक पद्धतीबाट स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन नगरस्तरीय नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आएको हो ।
आरोग्य केन्द्रको उद्घाटन गर्दै मेयर महतोले आयुर्वेदिक पद्धतिबाट उपचारका लागि अब नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे ।
आयुर्वेदिक औषधी सेवन गर्ने विरामीहरुलाई स्वास्थ्य जाँच र उपचार गराउन अब अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ । यहाँबाट नै सेवा लिन नगरबासीलाई मेयर महतोले आग्रह गरे । सेवा केन्द्रलाई भविष्यमा जनचाहना अनुसार विस्तार गर्ने प्रमुख महतोले प्रतिबद्धता समेत जनाए । आयुर्वेदलाई विकास गरिए विभिन्न खालका महंगो औषधी सेवन गर्ने बाध्यता हट्ने मेयर महतोको जोड छ ।
Sponsored
कार्यक्रममा मिथिला नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकीले शिक्षामा नै आयुर्वेद र योगाभ्यासलाई अगाडी बढाउनु पर्नेमा जोड दिईन । नागरिकलाई आरोग्य बनाउन योगाको शिक्षक तयार गरेर विद्यालयहरुमा अभियानको रुपमा योगअभ्यास र आयुर्वेद शिक्षा विस्तार गर्नुपर्ने रणनीतिका साथ आफुहरु अघि बढिरहेको बताईन् ।
जनकपुर आयुर्वेद औषधालय धनुषाका प्रमुख डा. सीमा झाले पालिकाहरुमा पनि आरोग्य सेवा केन्द्र संचालन गर्ने सरकारको योजना अनुसार नै मिथिला नगरपालिकामा नगरस्तरीय आरोग्य केन्द्र संचालन गरिएको बताईन ।
आरोग्य केन्द्रमा कर्मचारी बाहेक सबै व्यवस्थापनको कार्य नगरपालिकाले नै गर्नु पर्ने र हेर्नुपर्ने नीति रहेको छ । नेपाल सरकारले हाल २३ प्रकारको आयुर्वेदिक औषधी उपलब्ध गराउँदै आएको छ । उक्त सेवा केन्द्रमा औषधी व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको हो । नगरपालिकाले आयुर्वेदिक औषधी व्यवस्थापनको लागि स्वास्थ्य शाखालाई जिम्मा दिएको छ ।
आरोग्य केन्द्रको ईन्चार्जको जिम्मेवारी कविराज प्रेम महतोलाई दिएको छ ।