खरिद बिल नदेखाउने सप्तरीका सात पसललाई जरिवाना
टुडेपाटी–
सप्तरी, असार १६ गते ।
सप्तरीमा खरिद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने सात पसललाई जरिवाना गरिएको छ ।
बिहिवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगन्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा राजविराजका पसलमा अनुगमन गरेर कार्वाही गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्बेले खरिद बिल नदेखाउने, अनुगमनमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरिएको जानकारी दिए ।
मूल्यसूची नराख्ने राजविराजस्थित दास हार्डवेयरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
यस्तै खरिद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर, नदिना फ्रुट एण्ड जनरल स्टोरलाई २० हजारका दरले र गौरव ट्रेडर्स एण्ड सप्लायर्सलाई १० हजार, सीता ट्रेडर्स र लेडी कलेक्सनलाई पाँच हजारका दरले जरिवाना तोकिएको छ।
Sponsored
यस्तै अनुगमनमा असहयोग गर्ने बालाजी खाद्यान्न खरिदबिक्री केन्द्र र न्यु पूजा बस्त्रालयलाई २० हजार रुपैयाँ जरिवाना गरिएको खत्बेले जानकारी दिए ।