एक वर्षमा सप्तरीमा ९१ जना लागुऔषध कारोबारी पक्राउ
रासस–
सप्तरी, बैशाख १९ गते ।
सप्तरीमा चालुआर्थिक वर्षको हालसम्म ९१ जना लागुऔषध कारोबारी र दुर्व्यसनीलाई पक्राउ परेका छन् । पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उजुरी दर्ता भएकामध्ये पाँचजना आरोपित भने पक्राउ पर्न सकेका छैनन् । घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागु औषधसहित शुक्रबार सार्वजनिक गरेको थियो । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बालिस्टर सिंहकाअनुसार यादवको घरबाट एक हजार २५० ट्याब्लेट नाइट्रोभेट–१० तथा ७५०र७५० एम्पुल डाइजेपाम, फेनारगन र नुफिन बरामद गरिएको छ ।
भारतबाट साइकलमा लागुऔषध ओसारिरहेका दुई युवालाई प्रहरीले गत पुस २३ गते पक्राउ गरेको थियो । राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्री सडकखण्डबाट लागुऔषधसहित विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतो पक्राउ परेका थिए । उनीहरूको साथबाट ४०८ क्याप्सुल एपिएम प्रोक्सिभन, चार बोतल डाइलेक्स डिसी र चार ट्याब्लेट नाइट्राभेट–१० बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
सप्तरीबाट काठमाडौँ लैजान ठीक पारेको दुई हजार १०० ट्याब्लेट नाइट्रोभेट–१०, एक सय मिलिग्रामको ३९९ बोतल डाइलेक्स डिसी सिरफ र २८८ क्याप्सुल प्रोक्सीभोन प्रहरीले राजविराज–२ स्थित गुलाब ग्यारेजमा राखिएको ना८ख ५८३७ नम्बरको विशाल मेट्रो बसबाट गत पुस १० गते बरामद गरेको थियो । लागुऔषधका पटके आरोपित सोही बसका सहचालक कञ्चनरूप नगरपालिका–८ का सञ्जय भुजेल र बोदेबर्साइन – ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँलाई पक्राउ गरेको थियो ।
ठूलो परिमाणका कारोबारीसँगै प्रहरीले दुर्व्यसनी र ओसारपसारमा संलग्नलाई पक्राउ गर्न थालेपछि सप्तरी प्रहरीका हिरासत कक्ष अहिले लागुऔषधका आरोपितहरूले भरिएका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतको ‘क’ श्रेणीका तीन इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अधिकांश लागुऔषध आरोपित रहेको प्रहरीले जनाएको छ ।
Sponsored
बरामद भएका लागुपदार्थको परिमाण र उजुरी दर्ता पनि बर्सेनि बढ्दै गएको छ । प्रहरीले आर्थिक वर्ष ०७६/०७७ मा लागुऔषधसम्बन्धी ५१ उजुरी दर्ता गरी ७१ जनालाई पक्राउ गरेको थियो । ती मध्ये तीन जना अझै फरार छन् ।
यस्तै आर्थिक वर्ष ०७७र०७८ मा ८८ उजुरी दर्ता गरी १५३ जनालाई पक्राउ गरेको थियो । ती मध्ये नौ जना फरार छन् ।
खुला सिमानाको फाइदा उठाउँदै पर्याप्त मात्रामा लागुऔषध छिमेकी मुलुक भारतीय सीमाबाट प्रवेश हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी उपरीक्षक काफ्लेकाअनुसार पैदल, साइकल, अटो रिक्सा, मोटरसाइकललगायतमा लोड गरी लागुऔषध भारतबाट सप्तरी भित्रिने र बसमार्फत हेटौँडा, काठमाडौँ, पोखरासम्म पुग्ने गरेको बताए ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार लागुऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवणसमेत मिलाइ तयार गरिने पदार्थ र सरकारले तोकिदिएको प्रकृतिक तथा कृतिम लागुऔषध बुझिने प्रहरीले जनाएको छ ।