जनकपुरधाममा विश्वस्तरीय क्यान्सर अस्पतालको शिलान्यास
टुडेपाटी–
जनकपुरधाम, बैशाख २ गते ।
जनकपुरधाममा विश्वस्तरीय सुविधा सम्पन्न क्यान्सर अस्पतालको शिलान्यास भएको छ ।
मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा शुक्रबार दुई सय बेडको अस्पतालका शिलान्यास गरिएको हो ।
चार वर्षदेखि २५ वेडको क्यान्सर हस्पिटल सञ्चालन गर्दै आइरहेको विनयतारा क्यान्सर ट्रष्टले विनयतारा फाउण्डेसनद्वारा क्यान्सर सेन्टरको नयाँ भवनको शिलान्यास गरिएको हो ।
ट्रष्टका प्रमुख विनयकुमार साहले क्यान्सरका अस्पतालहरू काठमाडौं र भरतपुरमा मात्रै रहेको भन्दै मधेश प्रदेशमा पनि अस्पताल हुनुपर्ने भन्दै विगत ४ वर्ष पहिला २५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका थिए । तर विरामीहरुको चाप दिनप्रतिदिन बढ्दै गएको र प्रत्येक एक सय व्यक्तिमा एक जनालाई क्यान्सर रोग रहने गरेको तथ्यांकलाई मध्यनजर गर्दै उनले अस्पताल सञ्चालनमा ल्याएको बताए ।
अस्पतालको भवन निर्माणका लागि समाजसेवी विनोद ठाकुरले दस कठ्ठा जग्गा दान गरेका छन् । कुल ४ विघामा अस्पताल बन्न लागेको हो ।
Sponsored
बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ । हाल जनकपुरधाममा बिटिएफसिसीको २५ श्ययाको अस्पताल सञ्चालनमा रहेको छ । डा.शाहले यो दक्षिण एशियाकै आधुनिक अस्पतालका रुपमा स्थापित हुने दाबी गरे ।
२०२५ सम्ममा अस्पतालको निर्माण सम्पन्न हुने योजना रहेको फाउण्डेशनले जनाएको छ ।