मधेशमा २१ हजार भन्दा बढी म्यादी प्रहरी भर्ना गरिने
टुडेपाटी–
काठमाडौँ, चैत ६ गते ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा २१ हजार भन्दा बढी म्यादी प्रहरी खटिने भएका छन् ।
सरकारले स्थानीय तह निर्वाचनको सुरक्षार्थ सातवटै प्रदेश र उपत्यका गरी देशभर १ लाख म्यादीको दरबन्दी स्वीकृत गरेकोमा मधेश प्रदेशमा २१ हजार ६ सय ९८ जना भर्ना गर्न लागिएको हो ।
मधेश प्रदेशमा सबैभन्दा बढी म्यादी प्रहरी खटनेछन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम म्यादी प्रहरी भर्ना गरिनेछ । कर्णाली प्रदेशका १० जिल्लामा ७ हजार ७ सय १३ जना म्यादीको दरबन्दी निर्धारण गरिएको छ ।
निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको अन्तिम विवरण निर्क्योल गरपछि म्यादी प्रहरीको तैनाथी संख्यामा केही तलमाथि पर्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतवार देखि १ लाख म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरेकोमा धनुषामा ३ हजार ४८६, सप्तरीमा ३ हजार १३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७३६, रौतहट २ हजार ५८९, बारा २ हजार ५२८, सिरहामा २ हजार ३३१ र पर्सामा १ हजार ८ सय १ जना म्यादी भर्ना गरिनेछ ।
Sponsored
मधेस प्रदेशका ८ जिल्लामा कुल संख्याको करिब २२ प्रतिशत म्यादी खटाइँदै छ ।