धनुषा वनद्वारा अहिलेसम्मकै ठूलो अवैध सालको काठ बरामद
विजय साह-
जनकपुरधाम, फागुन २४ गते ।
धनुषामा अवैध सालको काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय धनुषाले सोमबार पाँच ट्याक्टर अवैध सालको काठ बरामद गरेको हो । वन कार्यालयले धनुषाधाम नगरपालिका–६ मालटोलस्थित खेतबारीमा लुकाई छिपाई राखेको अवस्थामा पाँच ट्याक्टर अवैध सालको काठ बरामद गरेको हो ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख सुनिलकुमार कर्णले मालटोलस्थित खेतबारीमा लुकाई छिपाई राखिएको अवस्थामा पाँच ट्याक्टर अवैध सालको काठ नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले २५५.०९ क्यूफिट काठ बरामद भएको भएको बताए । जसमा १८१ थान गोलिया र चार थान चिरान गरी १८५ थान काठ रहेको छ ।
डिभिजनल प्रमुख कर्णले वन कार्यालय धनुषाले यति ठूलो मात्रा अवैध सालको काठ बरामद गरेको यो पहिलो घटना भएको दावीसमेत गरे । ‘बढीमा २० थानसम्म अवैध काठहरु बरामद भएको जिल्लामा तथ्याङ्क छ । ठूलो परिमाणमा अवैध काठ बरामद भएको यो नै पहिलो पटक हो, उनले भने ।’
वन कर्मचारी, जनपद प्रहरी, शसस्त्र प्रहरी र स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहयोग काठ नियन्त्रणमा लिन सफल भएको बताउँदै डिभिजनल प्रमुख कर्णले बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको जानकारी दिए ।
बरामद सालको काठ राष्ट्रिय वनबाट कटान गरी त्यहाँ थुपारिएको हुनुपर्छ । वनबाट काठ कटान गर्नेहरुको पहिचान पत्ता लगाउन कर्मचारी खटाएको र पहिचान खुलेपछि संलग्नहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने डिभिजनल प्रमुख कर्णले भने ।
Sponsored