स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस
टुडेपाटी–
काठमाडौं, फागुन १७ गते ।
स्थानीय तहको निर्वाचनका लागि न्याय परिषद्को बैठकले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस गरेको छ ।
सोमबार बसेको बैठकले ४६७ जनालाई निर्वाचनमा खटाउन सिफारिस गरेको हो ।
परिषद्का अध्यक्ष कामु प्रधानन्यायाधीश दीपककुमार, कानुनमन्त्री दीलेन्द्रप्रसाद बडु, वरिष्ठतम् न्यायाधीश मीरा खड्का, सदस्यहरु रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ सम्मिलित बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि प्रत्येक जिल्लाका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका लागि निर्वाचन आयोगलाई सिफारिस गरि पठाएको छ ।
कुनै न्यायाधीश बिरामी परेको अवस्था वा विशेष कारणबश मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पूरा गर्न नसक्ने भएमा अन्य न्यायाधीशलाई खटाउनका लागि १५ जना न्यायाधीशलाई जगेडामा पनि राखिएको छ । एक न्यायाधीश मात्रै रहने जिल्लामा ती जिल्लाका न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत बन्नेछन् ।
त्यसैगरी परिषद्ले निर्वाचन अधिकृतका लागि न्याय, कानुन र सरकारी वकिल समूहबाट ३७५ जनाको नाम सिफारिस गरी निर्वाचन आयोगलाई पठाइएको छ । न्याय समूहबाट १७९ जना, कानुन समूहबाट ४९ र सरकारी वकिल समूहबाट १४७ उपसचिवहरुलाई परिषद्ले निर्वाचन अधिकृतका रुपमा खटाउन निर्वाचन आयोगलाई सिफारिस गरी पठाएको हो ।
Sponsored
सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ ।