TodayPati

‘मध्यमवर्गीय परिवारको विशेषता- सन्तानप्रतिको महत्वकांक्षा’


राजिव झा-
लक्ष्मिनिया गा.पा.–७, धनुषा, नेपाल

मध्यमवर्गीय परिवारको आफ्नै विशेषता हुन्छ । यस परिवारको जीवनजिवीकाको आधारहरु कृषि, वैदेशिक रोजगार, स्वदेशी सानतिनो सरकारी तथा प्राइभेट नोकरी, जिवनयापनको लागि परम्परागत व्यबसाय हुन्छन् । यस्तो परिबारमा एउटा समस्याको पूर्णरुपले सामाधान भइरहेको हुँदैन । एकपछि अर्को समस्या क्रमिक रुपमा आइपर्छन् । भगवानको कृपा हुन्छ । हौसला र धैर्यता हुन्छन् । यस्ता परिवारमा समस्या संग लड्ने अदभुत शक्ति हुन्छ । हरेक कदममा समस्या संग लडिरहेका हुन्छन् मध्यवर्गीय परिवार । लड्दै गर्दा मुटुको एउटा कुनामा आशा पालिरहन्छन्, की सन्तानले हरेक दुखःको निवारण गर्नेछन् । यस्ता परिवार विभिन्न आयामिक समस्याले जुझि रहेका हुन्छन् ।


व्यक्ति व्यक्ति मिलेर परिवार बन्छ । परिवारहरु मिलेर समाज । हरेक समाजमा फरक स्तर भएका परिवारहरु हुन्छन् । समाज चलाउनलाई एउटा साझा मापदण्ड बनाइएको हुन्छ । राम्रो आय भएकोले त मापदण्ड भन्दा बढी नै गर्ने गर्छन् । तर, मध्यमवर्गी परिवारलाई सामजिक रिती–रिवाज, प्रथा–कुप्रथा, भोज–भतेरले सदैव पिरोलिरहेको हुन्छ । भरभलादमीले तोकेको मापदण्ड पुरा गरेन भने अबहेलनाको डर । जेनतेन पुरा गर्यो भने थोर बहुत उब्जाइ रहेको खेत बेचिने डर । सामाजमा आफ्नो अस्तित्व जोखिममा पर्ने खतरा । समाजमा आफ्नो हैसियत कायम गर्न लाखौं बिदेशिएका छन् । हजारौंले शरीरको पसिनालाई गंगाजल झै पवित्र मानि दिनरात खटिएका छन् । अति नै दुख गरेर घरपरिवारको जोहो गर्न आय आर्जन गर्ने गर्छन् । यस्तो परिवारमा कमाउने कार्य सधैं भइरहन्छ । राम्रो वचत कहिले हुँदैन । छोरा पढाउँदा ऋण लिनुपर्ने बाध्यता र छोरीको बिहेमा खेत बेच्नु पर्ने बाध्यता । परिवार बिरामी हुँदा गाईवस्तु बेच्नु पर्ने बाध्यता ।

Sponsored

धर्म जीवन जिउने शैली हो । धर्म कसैको सापेक्ष चल्दैन । यो निरपेक्ष हुन्छ । धर्मले गरिब, मध्यमवर्गीयलाई पनि धनी बमोजिमकै बाच्ने अधिकार दिएको हुन्छ । तर जुन तरिकाले कुव्याख्या गरिएको हुन्छ, त्यो केहिको लागि अभिश्राप बन्न पुग्छ । धर्म आफैमा गतिमान हुन्छ । तर, जब यसलाई केही कथित समाजका भलादमीले स्थिर बनाइ दिन्छ त्यसलाई कुसंस्कृति बनाएर लाद्ने गर्छन् । धनीलाई त ठीक, तर गरिब, मध्यमवर्गीलाई हिनताबोध गराउँछ ।

उनीहरुको अस्तित्वमाथि पहिरो जान्छ । सामाजिक पहिचान क्षय हुदै जान्छ । सामाजद्वरा लादिएको कुसंस्कृतीहरु यस्ता हुन्छन् । ऋण लिएर पनि, छोरीको बिहेमा सामाजलाई एकछाक भोज खुवाइ दिनु पर्ने, खेत बेचेर पनि पूर्वज पितृको श्राद्धमा भोज गर्नै पर्ने । गर्नै पर्छ र ? भन्ने पनि नहुने । तर, सामाजले भोज भतेर, बुहारीले लिएर आएको दाइजोको आधारमा हैसियत तौल्ने गर्छ ।

आश्चर्यको कुरा, हामीले छोराछोरीलाई कुन (सरकारी÷नीजि) स्कुल पढाउछौं ? त्यसलाई पनि सामाजिक हैसियतको आधार बनाईएको हुन्छ । मध्यमवर्गीको मनमा हिनता भइरहेको हुन्छ । कि आफ्नो सन्तानलाई प्राइभेट स्कुल पढाउन सकिनँ । फेरी छोराछोरीलाई प्राइभेटमा पढाउनेको रवाफै नै बेग्लै हुन्छ । परिवारका सदस्य बिरामी हुँदा कुन अस्पतालमा जचाउँन जान्छौ, त्यो पनि सामजिक सम्पन्नताको सूचक हो ।

Sponsored

यदि घरको वृद्धवृद्धालाई आर्थिक अभाव कारण सरकारी अस्पतालमा उपचार गराउनु भयो भने, फेरी हजुरको हैसियतमा एउटा फुलबुट्टा थपिन्छ । एक हिँसाबले त धनीहरुले आफ्ना सन्तानलाई सरकारी स्कुल पढाउनै छाडेका छन् । यो अलग कुरो हो की फेरि छात्रवृतिको लागि सर्टिफिकेट सरकारीकै राख्ने गर्छन् । आफन्त बिरामी हुँदा सरकारी अस्पताल जचाउनै छोडेका छ्न् । यस्ता कारणहरुले पनि सरकारी स्कुल र अस्पतालहरुको स्तर खस्किरहेका छन् । त्याहाँबाट गुणस्तरीय सेवा प्रवाह नहुँदा गरिब तथा मध्यमवर्गीय परिवारलाई पनि निजी स्कुल र अस्पतालमा चर्को मूल्य तिरेर भए पनि सेवा लिन बाध्य छन् । उनीहरुले आर्जन गरेको पैसाको अधिकांश प्रतिशत यसरी नै खर्च हुन्छ ।

जनताको निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ उपचार राज्यको दायित्व अन्तर्गत पर्दछ होईन र ? यो राजनैतिक मुदा पनि हो । र यसको निराकरण राजनैतिक स्तरबाटै सम्भव छ । निःशुल्क स्वास्थ उपचार, निःशुल्क शिक्षा नारामा मात्र सीमित छ । चुनावी घोषणा पत्रलाई आकर्षक बनाउनको लागि बनाइएको बेहुली भित्र्याउन सजाइएको भाडाको गाडी जस्तै । सामाज संचालनको मुख्यः आयाम हो, राजनीति । राजनीतिमा पहुँच उन्नतिको बाटो हो । राजनीतिले दबिएको आवाजलाई उठाउछ । पहुँच बिना समस्या निराकरण हुँदैन । बिभिन्न समयमा राजनीतिले गरेको सामाजिक परिवर्तनलाई लिन सकिन्छ, ।चाहे त्यो सति प्रथा होस्, कमैया प्रथा वा हलिया प्रथा ।

मध्यमवर्गीय परिवारलाई घर चलाउनबाट फुर्सद हुदैन । उनीहरुको लागि राजनीति पहिलो र दोस्रो प्रथमिकतामा पनि पर्दैन । उनीहरुलाई चुनावमा भोट हाल्ने संग मात्र मतलव हुन्छ । यी वर्ग राजनितीक दलको भोटर बैंकको रुपमा मात्र सिमीत हुन्छ । चुनाव लाग्दा भोट तान्न बिभिन्न प्रलोभनका सिकार हुने गर्छन् । चुनावपछि फेरि उस्तै अवस्थामा । यस्ता समस्याहरु संग संघर्ष गरिरहेको दाम्प्तयले आफ्नो पहिचान ती सामाजको सायामा खोजिरहेको हुन्छन् अनि यावत समस्याको सामाधानको मात्र एक केन्द्र सन्तान । जानी नजानी उनीहरुको महत्वकांक्षा सन्तानप्रति बढिरहेको हुन्छ । सन्तानले यी सबै खाले समस्या समाधान गर्छन् कुनै दिन भनेर । एउटा हिन्दी सिनेमाको गीत छ नि “पापा केहते हे बडा नाम करेगा, बेटा हमारा ऐसा काम करेगा“


लेखको शुरुवातमै भनेको छु “मध्यमवर्गीय परिवार जसको आफ्नै विशेषता“ हुन्छ । उनीहरु ओभर प्रोटेक्टिभ हुनेगर्छन् । आफू गर्मीमा पंखा बिना सुत्छन् । सन्तानको कोठामा पंखा लगाउँछन् । आफू बिरामी हुँदा जँचाउन आलटाल गर्छन् । तर, सन्तान बिरामी हुँदा तुरन्तै अस्पताल पुर्याउँछन् । आफू एकछाक भोकै बसे पनि सन्तानलाई खाना खुवाउछन् । सन्तान अलि छिट्टो ठूलो होस् भन्ने आश गरिरहेका हुन्छन् । छिट्टो ठूलो हुन्छन् भने छिट्टै आय आर्जन गर्न थाल्छन भनेर । घर परिवार सम्हाल्छन् । आर्जन भनेको शिक्षा, पैसा, आफूले कमाउन नसकेको केही कथित भलादमीले निर्धारण गरेको सामजिक हैसियत हो ।

आफू सामाजमा कथित तल्लो स्तरीय काम गर्छन् । सन्तानलाई माथिल्लो स्तरमा पुगोस् भन्ने महत्वकांक्षा राख्छन् । यस्तो परिवारमा सधैं लुगा कपडा किन्ने चलन हुदैन । दशैं, ईद, वा घरमा कसैको बिहे कुर्नु पर्ने हुन्छ । कपडा किन्दा आफ्नो साईज भन्दा कम्तिमा एक साईज ठूलो किन्दिने गर्छन् । ताकि अलि उचाई, मोटाई बढ्दा पनि किन्न नपरोस् । सन्तानले आमाबुबा अगाडी नाइ भन्ने चलन हुँदैन । कपडाको साईजमा मात्रै होइन । मध्यमवर्गीय परिवारमा सन्तानको स्कुल, करियर र बिहे पनि आमबुबाले निर्धारण गर्ने गर्छन् । यस्तो सोचाइ उनीहरुको भोगाइबाट आएको हुन्छ । यसको यो अर्थ न लागोस् की आमाबुवा निरंकुश हुन्छन् ।

उनीहरुलाई डर हुन्छ । उनको सन्तानलाई कसैले गलत मार्गनिर्देश नगरोस् । उनीहरुलाई थाहा हुन्छ की सामजिक हैसियत बढी भएकाको छोराछोरीले कुन करियर अंगालेको छ । कस्तो खन्दानमा बिहे गरेको छ । सामाजमा पैसा मात्र हैन पेशा अनुसारको पनि हैसियत तोकिएको हुन्छ । यसर्थ आफूले भोगेको अपहेलना मेरो सन्तानले भोग्न नपरोस् भनेर चिन्तित र सचेत हुने गर्दछन् । आफूले सामाजमा नपाएको स्थानमा मेरो सन्तान बिराजमान होस् भन्ने चाहना हुन्छ । भनिन्छ पनि की तपाईलाई आफू भन्दा पनि माथि स्थानमा देख्न चाहने कोही छन् भने भने त्यो केवल तपाईको आमाबुबा हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *