आइपिएलको मेगा अक्सनमा आज, सन्दीपको के हुन्छ ?
टुडेपाटी–
काठमाडौं, माघ २९ गते ।
इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सन सुरु भएको छ । आइपिएलको १५ औं सिजनका लागि आज र भोलि विभिन्न १० टिमले विभिन्न खेलाडीमाथि बोली लगाउनेछन्।
आज ११ बजेबाट बैंलुरूमा सुरु भएको अक्सनमा ५९० खेलाडीमध्ये १६१ खेलाडीमाथि बोली लाग्नेछ। बाँकी खेलाडीको बोली आइतबार लाग्नेछ।
१० टिमले बढीमा २५ जना र कम्तिमा १८ जना खेलाडी राख्न पाउनेछन्।
खेलाडीहरूले आफ्नो आधार मूल्य २० लाख, ३० लाख, ४० लाख, ५० लाख, ७५ लाख, १ करोड, १।५ करोड र २ करोड राखेका छन्।
अक्सनमा ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी रहेका छन् ।
Sponsored
५९० खेलाडी मध्ये २२८ क्याप्ड, ३५५ अनक्याप्ड र ७ जना एसोसिएट देशका खेलाडी छन्।
आइपिएलका १० फ्रेन्चाइज टिमहरू चेन्नई सुपरकिंग्स, दिल्ली क्यापिटल्स, कोलकता नाइटराइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पन्जाव किंग्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंग्लोर, सनराइजर्स हैदरावाद र टिम अहमदावाद रहेका छन्।
आइपिएल २०२२ को अक्सनमा नेपालबाट नेपाल टिमका कप्तान सन्दीप लामिछाने मात्र समावेश भएका छन् । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारू रहेको छ ।
सन्दीप तीन सिजन दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए भने अघिल्लो सिजनमा आइपिएलका कुनै टिममा आबद्ध हुन पाएनन् । सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल मात्र खेलेका हुन् ।