पिपरा गाउँपालिकाका वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर
टुडेपाटी–
महोत्तरी, माघ २७ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिकाका एक वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
बिहिवार पिपरा–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
गाउँपालिकाअन्तर्गतको सहोडवास्थित सुब्बा पोखरीको ठेक्का कबुलगरी रकम नबुझाएको उजुरीको आधारमा ३५ लाख २१ हजार २०४ रूपैयाँ विगो राखेर यादवविरूद्ध आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
तत्कालीन सहोडवा गाविस कार्यालयले २०७१ भाद्र १ गतेदेखि २०७६ भाद्र मसान्तसम्मका लागि ठेक्का बन्दोबस्त गर्दा सुब्बा पोखरीको ठेक्का यादवले पाएका थिए।
पोखरी हकभोग गरेवापत गाविस कार्यालयलाई बुझाउनुपर्ने रकम यादवले नबुझाएको भन्दै उजुरीको आधारमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।
Sponsored
ठेक्का अवधिका लागि ५४ लाख ६४ हजार ६ रूपैयाँ सकार गरेका यादवले २०७३ माघ ४ सम्म जम्मा १९ लाख ४२ हजार ८०१ मात्र बुझाएको अख्तियारले जनाएको छ।
अख्तियारले वडाध्यक्षमा निर्वाचित भैसकेपछि यादवले पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाइ आफूलाई गैरकानुनी लाभ पुर्याएको ठहर गर्दै ठेक्का वापतको बाँकी रकम ३५ लाख २१ हजार २०४ रूपैयाँ असुलउपर गर्न विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।