महानगर वीरगञ्जमा दुईवटा बर्थिङ सेन्टरको शिलान्यास
टुडेपाटी–
वीरगञ्ज, माघ २५ गते।
पर्साको वीरगञ्ज महानगरपालिकामा दुईवटा बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ । वडा नंं. १७ अलौं र वडा नं. २६ सुगौली विर्तामा बर्थिङ सेन्टरको शिलान्यास गरिएको हो ।
मंगलबार नगरप्रमुख विजय कुमार सरावगीले दुवै बर्थिङ सेन्टरको शिलान्यास गरेका छन् । प्रमुख सरावगीले नगर क्षेत्रमा स्वास्थ्य संस्थामा प्रसूती गराउन प्रोत्साहन गर्नुको साथै सुरक्षित प्रसूती सेवा प्रदान गर्ने उद्देश्यले बर्थिङ सेन्टर बनाउन लागिएको जानकारी दिए ।
वीरगञ्ज महानगरपालिकाको पूर्वाधार विकास शाखाका अनुसार राष्ट्रिय योजना आयोगको विशेष अनुदानबाट नगर क्षेत्रमा पाँचवटा बर्थिङ सेन्टर बनाउन लागिएको छ ।
वीरगञ्ज–२२ जगरनाथपुर, २६ नं सुगौलीविर्ता, १७ नं अलौं, ३१ नं बेल्वा र २९ नं बसडिल्वामा चालु आर्थिक वर्षभित्र नै बर्थिङ सेन्टर बनाईसक्ने गरी काम अघि बढाइएको हो ।
पीएमसप्तपथड्रामा जेभीले पाँचवटै बर्थिङ सेन्टर बनाउने जिम्मा पाएको छ । ३ करोड ६८ लाख ८ हजार ४ सय रुपैयाँमा ५ वटै बर्थिङ सेन्टर तयार पार्नेछ ।
Sponsored
बाँकी तीनवटा बर्थिङ सेन्टरको निर्माणको काम पनि छिट्टै सुरु हुने महानगरपालिकाका ईन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए ।
१ तल्ले पक्की बर्थिङ सेन्टर भवन सुविधा सम्पन्न हुने सहरी पूर्वाधार विकास महाशाखाका प्रमुख ईन्जिनियर राकेश साह बताउँछन् ।
बर्थिङ सेन्टरमा प्रि डेलिभरी, पोष्ट डेलिभरी, जाँच कक्ष, ड्रेसिङ रुम, ल्याब, स्टोर, प्रशासनिक कार्य गर्नका लागि छुट्टाछुट्टै कोठा र शौचालयको व्यवस्था भवनमा हुनेछ । १६ वटा ग्रामिण वडा सहित ३२ वटा वडा रहेको वीरगञ्जमा हाल दुईवटा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा छ ।