TodayPati

झा दम्पती हत्या प्रकरण : धमाधम छुट्दै अभियुक्तहरु

टुडेपाटी-
जनकपुरधाम, माघ २५ गते ।

महोत्तरीको पिपरा गाउँपालिकामा गत वर्ष भएको झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षमा पठाइएका ३ जनालाई उच्च अदालत जनकपुरले धरौटीमा छाड्न आदेश दिएको छ ।

गत महिना पुस ४ मा न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षमा रहेका बबलु झालाई २ लाख रुपैयाँ तथा सुरेन्द्र यादव र राजेन्द्र यादवलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । अभियुक्त सुरेन्द्र र राजेन्द्र दुवै दाजुभाइ हुन् ।

Sponsored

यसअघि महोत्तरी जिल्ला अदालतले अभियुक्त तारा देवीलाई २ लाख रुपैयाँ तथा मृतक दम्पतीकी जेठी बुहारी अंशु झालाई ५० हजार रुपैयाँ धरौटीमा छोडिसकेको छ । झा दम्पतीको हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको आरोपमा महोत्तरी जिल्ला अदालतकै निर्णयलाई सदर गर्दै उच्च अदालत जनकपुरले पिपरा गाउँपालिका वडा नम्बर ५ बस्ने कैलाश झा, ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनीका ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाउन आदेश दिएको थियो ।

महोत्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुरको आदेशपछि झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा थुनामा रहेका भारत मधुवनीका हरेन्द्र ठाकुरको परिवारले निर्दोषलाई फसाउनका लागि हत्यामा संलग्नहरूलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन् । हरेन्द्रका छोरा केशव ठाकुरले प्रहरीले जानिबुझी हत्यामा संलग्न रहेकाहरूलाई बचाउनका लागि अनुसन्धानलाई नै कमजोर पारेको आरोप लगाए ।

अदालतमा दिइएको बयानमा मुख्य योजनाकार भनिएका कैलाश झाकै बयानलाई आधार मान्ने हो भने उनले योजनामा संलग्न रहेकाहरूको दिएका नामहरूमध्ये हरेन्द्रलाई मात्रै पुर्पक्षमा पठाएर बाँकीलाई धरौटीमा छोड्नुले प्रश्न खडा भएको अधिवक्ता देवेन्द्र ठाकुर निरालाको दाबी रहेको छ ।

Sponsored

गत वर्ष फागुन १० मा घरबाट पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरण गरी हत्या गरिएको थियो । हत्या गरिएको महिना दिनपछि २०७७ चैत १२ मा पिपरा गाउँपालिका वडा नम्बर २ स्थित अतरारमा पुरिएको अवस्थामा शव फेला पारिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *