बारामा ३७ हजार थपिए नयाँ मतदाता, सबैभन्दा बढी युवा
टुडेपाटी-
बारा, पुस २१ गते ।
बारामा मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्तर्गत थप ३७ हजार १ सय ६१ जना मतदाता थपिएका छन् । गएको पुस १८ गतेसम्म जिल्लामा जम्मा नयाँ र पुराना गरी ४ लाख १३ हजार ७ जना मतदाता पुगेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय बाराले मंसिर तेस्रो साताबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको थियो ।
जिल्लाका १३ वटा स्थानीय तहमा २ चरणमा टोलीसमेत खटाइएको थियो । टोलीमा १९ हजार ३ सय ७९ र कार्यालयबाट १७ हजार ७ सय ८२ गरी जम्मा ३७ हजार १ सय ६१ जना नयाँ मतदाताको नाम दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत सरोजकुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार जसमध्ये ९ हजार ७ सय ३६ महिला र ९ हजार ६ सय ४३ पुरुष गरी १९ हजार ३ सय ७९ जनाले टोलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय बाराले मंसिर १७ गते देखि पुस २ सम्म ७ वटा पालिका र पुस ४ गतेदेखि १८ गते सम्म ६ वटा पालिका गरी जम्मा १३ वटा पालिकाहरुमा दुई चरणमा टोली मार्फत नामावली संकलन गरिएको थियो ।
जिल्ला प्रशासान कार्यालय, निर्वाचन कार्यालय, सिमरा र कोल्हबी ईलाका प्रशासन कार्यालय मार्फत नियमित रुपमा नामावली संकलन भइरहेको उनले बताए ।
Sponsored
उल्लेखित कार्यालय सम्मै पुगेर ८ हजार ३५ जना महिला र ९ हजार ७ सय ४७ जना पुरुषले नाम दर्ता गराएका हुन् ।
कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका र कोल्हबी नगरपालिकामा निर्वाचन कार्यालय तथा ईलाका प्रशासन कार्यालय भएका कारण टोली पठाइएको छैनन् ।
पुस १८ गतेसम्म चलेको टोलीमा सबैभन्दा बढी ३ हजार ५ सय ३६ जना सिम्रौनगढ नगरपालिकामा र सबै भन्दा कम १ हजार १० जना देवताल गाउँपालिकामा मतदाता थपिएका छन् ।
यसरी टोलीमा नाम दर्ता गर्नेमा युवाहरुको संख्या अधिक रहेको निर्वाचन अधिकृत चौधरीको भनाइ छ ।
बारामा यसअघि १ लाख ६८ हजार १ सय १९ महिला, २ लाख ७ हजार ७ सय १६ पुरुष र ११ जना तेस्रो लिङ्गी गरी ३ लाख ७५ हजार ८ सय ४६ मतदाता थिए ।