प्रदेश २ : गाउँपालिकाका कार्यालयबाट किसानले लुटे गहुँको बीउ
टुडेपाटी–
सिरहा, पुस ६ गते ।
सिरहामा गाउँपालिकाको कार्यालयमा राखिएको गहुँको बीउ किसानले लुटेका छन् । जिल्लाको औरही गाउँपालिकाको अस्पताल परिसरमा रहेको एक घरमा वितरणका लागि राखिएको गहुँको बीउ किसानहरू लुटेर लगेका हुन् ।
बीउ लिनका लागि लाइनमा लागे पनि समयमा वितरण नगरेको, कसैलाई धेरै, कसैलाई थोरै मल दिएको, प्रहरीबाट दमन गर्न लगाएको आरोप लगाउँदै किसानहरुले बीउ लुटेर लगेको औरही गाउँपालिकाका जनमत पार्टीका नेता दीपेन्द्र यादवले जानकारी दिए ।
बिहानै देखि किसानहरू लाइन बसेपनि कर्मचारीहरु कार्यालय समय नआएपछि किसानले गहुँको बीउ लुटेर लगेको उनले बताए ।
गाउँपालिका कृषि शाखाका प्रमुख राजदेव यादवका अनुसार किसानले साढे तीन सय बोरा लुटेर लगेका छन् । एक बोरामा ४० केजी हुन्छ ।
प्रमुख यादवले गहुँको बीउ वितरणका लागि ११ बजे किसानहरुलाई बोलाइएको तर वितरण स्थलमा सुरक्षाका लागि सशस्त्र प्रहरी आउन ढिला हुँदा किसानहरुले ताला तोडेर बीउ लुटेर लगेको बताए ।
Sponsored