TodayPati

प्रदेश २ : प्रहरी कार्यालयमा ढुङ्गामुढा, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

टुडेपाटी–
रौतहट, पुस ५ गते ।

रौतहटमा प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा भएको छ । रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् ।

आइतवार राति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् ।

Sponsored

टिपरको ठक्करबाट फतुवा विजयपुर–११ हिमालीबासमा मोटरसाइकल चालक नेकपा एमालेका स्थानीय नेता खेदु चौधरीको मृत्यु भएको थियो ।

उनको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको स्थानीयवासीको आरोप छ ।

टिपर धनी र चालकलाई जोगाउन हतार हतारमा प्रहरी निरीक्षक विश्वकर्माले घटनालगत्तै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको पीडित परिवारको आरोप छ ।

Sponsored

प्रहरी निरीक्षक विश्वकर्माले आफू कसैको प्रभावमा नपरेको भन्दै आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन् ।

सोमबार पीडित परिवारसँगै सयौंको संख्यामा गाउँलेहरुले विजयपुरमा प्रदर्शन गर्दै बिहान ११ प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका थिए । यस क्रममा २ जना प्रहरी घाइते भएको तथा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी मुक्ति पटेलको टाउको फुटेको छ । अहिले प्रदर्शनकारीहरु प्रहरी कार्यालय अगाडि बाटो अवरुद्ध गरेर धर्नामा बसेका छन् ।
यता रौतहटका प्रहरी प्रमुख एवं एसपी विनोद घिमिरेले दुर्घटनामा संलग्न टिपर चालक पक्राउ परिसकेकाले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताएका छन् । दुर्घटना पश्चात टिपर चालक फरार भएका थिए भने. उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *