गोलबजारमा पुनः पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, अवस्था तनावग्रस्त
टुडेपाटी
जनकपुरधाम, पुस ५ गते ।
सिरहाको गोलबजारको अवस्था पुनः तनावग्रस्त बनेको छ ।
प्रहरीले सहमति अनुसार २४ घण्टा भित्रै छुरा प्रहार गर्ने दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीयबासिन्दाले गोलबजारमा आज बिहान १० बजेदेखि पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
राजमार्ग खोलाउन प्रहरीले बल प्रयोग गरेपछि त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको हो ।
प्रहरीको लाठी चार्जबाट दुईजना प्रदर्शनकारी घाइते भएका छन् । सो क्रममा गाउँबाट भाटा, लाठी बोकेर आएका प्रदर्शनकारीले प्रहरीलाई लखेटेका छन् ।
शनिबार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ हटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको थियो भने उनका साथी निकेश सदा गम्भीर घाइते छन् ।
Sponsored
घटना विरुद्ध आइतबार बिहानैदेखि स्थानीयहरु राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रेका थिए ।
स्थानीय र प्रहरी बिच दोषीलाई २४ घण्टा भित्र पक्राउ गरी कारबाही गर्ने, मृतक परिवारको क्षतिपुर्तिको लागि पहल गर्ने र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने सहमति पशचात राजमार्ग खुलेको थियो ।