राजश्व कार्यालय जनकपुरद्वारा चार महिनामै पौने दुई अर्ब राजश्व संकलन
टुडेपाटी–
जनकपुरधाम, मंसिर ११ गते ।
आन्तरिक राजश्व कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको चार महिनामा पौने दुई अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । आव २०७८/७९ को साउन देखि कार्तिक सम्ममा एक अर्ब ७३ लाख २८ हजार राजस्व संकलन गरिएको कार्यालय प्रमुख गजेन्द्र प्रसाद यादवले जानकारी दिए ।
यो लक्ष्यभन्दा २०८ प्रतिशत बढी हो । सो कार्यालयको यस अबधिमा रु ८३ करोड १८ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य थियो । चालु आव ०७८/०७९ मा रु तीन अर्ब ८९ करोड ७२ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा चार महिनामै लक्ष्यको ५५ प्रतिशत राजस्व संकलन भइसकेको प्रमुख यादवले बताए ।
आयकरतर्फ ३१ हजार ९००, व्यक्तिगततर्फ ५७ हजार ३३७६ र अन्तशुल्कतर्फ एक हजार ३४८ गरी ९८ हजार ९४ करदाता रहेको कार्यालयले जनाएको छ ।
यसैबीच कार्यालयले चार जिल्लाका चार उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताहअन्तर्गत धनुषाका क्षीरेश्वर डिष्ट्रीलरी, महोत्तरीको अल्का वाइर प्रालि, सिन्धुलीको सिद्धबाबा कन्ट्रक्सन र सर्लाहीको नेपाल भेनियर उद्योगलाई सम्मान गरिएकोे हो ।
आन्तरिक राजस्व विभागले निर्धारण गरेको मापदण्डअनुसार राजस्वमा योगदान पु¥याउने, समयमा सही बितरण बुझाउने, बक्यौता बेरुजु नराख्ने र कुनै प्रकारको दण्ड जरिवाना नतिरेकामध्येबाट उत्कृष्ट करदाता छनोट गर्ने गरिन्छ ।
Sponsored
लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही समेत अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालय प्रमुख यादवले जानकारी दिए ।
आर्थिक वर्ष ०७७/०७८ मा कर नबुझाउने ५० करदातामाथि कारबाही गरिएको थियो ।