प्रदेश २ : विहेगर्ने प्रलोभन देखाई करणी गर्ने २१ वर्षीय युवक पक्राउ
टुडेपाटी–
पर्सा, मंसिर १० गते ।
जवरजस्ती करणीको आरोपमा पर्सामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नं. १ पिडारीगुठीका २१ वर्षीय अब्दुल कादिर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अन्सारीलाई उनकै घरबाट प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।
अन्सारीले १५ वर्षीया बालिकालाई विवाह गर्ने, सहर लगी घुमाइदिने, सिनेमा देखाइदिने तथा राम्रा लुगा कपडाहरू खरिद गरी दिने जस्ता प्रलोभन देखाई २०७८ जेठ १० देखि मंसिर ६ गतेसम्म जिराभवानी गाउँपालिकाका विभिन्न स्थान तथा खेतमा लगी पटकपटक जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोप छ ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा नाबालिकाका अभिभावकले अन्सारीविरुद्ध जाहेरी दरखास्त दिएका थिए ।
प्रहरीले उनलाई सोही दिन साँझ ६ बजे पक्राउ गरेको थियो । जबरजस्ती करणीसम्बन्धी कसुरमा बिहीबार पर्सा जिल्ला अदालतमा पेश गरी ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Sponsored